© २०२३
बुटवल, ३ पुस ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो । खेल जीवनको उत्तराद्र्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन् ।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो । अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो । लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन् ।
त्यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्सका डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए । जुन अवसरलाई मेस्सीले खेर जान दिएनन् ।
खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए । त्यसको १ मिनेटमा नै एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर खेलको १०९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर ११८ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई पुनः बराबरीमा ल्याए । जारी विश्वकपमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन् । यसअघि पोर्चुगलका गोन्कालो रामोसले स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका थिए ।
अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि उचालेको थियो । यता उपाधि रक्षा गर्ने होडमा रहेको फ्रान्सले भने तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने सुवर्ण मौका गुमायो । यसअघिको खेलमा आक्रामक प्रदर्शन गर्दै आएको फ्रान्स पहिलो हाफमा खुलेर खेल्न सकेन ।
फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । पछिल्लो पटक २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उचालेको थियो ।