© २०२३
बुटवल, ३ पुस ।
दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा आयोजक कालिका मानव ज्ञान मावि ३ स्वर्णसहित अंक तालिकाको शीर्षस्थानमा कायम रहेको छ । प्रतियोगिताको तेस्रो दिन थप २ स्वर्ण जित्दै कालिका पहिलो स्थानमा कायम रहेको हो ।
कालिकाका किर्तिमानी खेलाडी सलिम देवानले लङजम्पसंगै आइतबार एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन् । कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आइतबार सम्पन्न एथ्लेटिक्सको छात्र १ सय मिटर दौडमा कालिकाका सलिम देवानले ११.०८ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण हात पारेका हुन् ।
खेलमा कुँवरवर्ती ईङलिस बोर्डिङ स्कुलका दिलराज कुँवर ११.४७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा नविन औद्योगिक माविका सुशिल चौधरी ११.८४ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
यसैगरी छात्रातर्फको एक सय मिटर दौडमा रामापुर माविकी पवित्रा बिकले १४.१७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण हात पारेकी छिन् । कुँवरवर्ती ईङलिस बोर्डिङ स्कुलकी रोजी थापाले १४.३८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा नविन औद्योगिक माविकी ऐश्वर्या बमरेलले १४.६५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छिन् ।
छात्र सटपुटतर्फ कालिका माविका धर्मराज धवलले १०.४२ मिटर दूरी छेलो फाल्दै स्वर्ण हात पारे । न्यू होराईजनका सचिन चौधरीले १०.२६ मिटर फाल्दै दोस्रो तथा मणिमुकुन्दका सुमित सुनार १०.०२ मिटर छेलो फाल्दै तेस्रो भएका छन् ।
छात्रा सटपुटमा एभरेष्ट इङलिस बोर्डिङ स्कुलकी अनुषा चौधरीले स्वर्ण हात पारेकी छिन् । उनले ८.५७ मिटर दूरी छेलो फ्याल्दै स्वर्ण हात पारिन् । यसैगरी टिकुलीगढ माविकी सिमा केवट ७.१० मिटर छेलो फ्याल्दै दोस्रो तथा न्यु होराईजनकी बिष्णु सोमरे मगरले ६.९८ मिटर दूरी छेलो फाल्दै तेस्रो भएकी छिन् ।
छात्र भलिबलतर्फ अन्तिम १६ को टुगो लागेको छ । सोमबार अन्तिम आठका लागि देवदह र एमएमसी, कोलिया र दीप, ज्ञानोदय र उजिरसिह, इडेन र न्यु भिजन, होराईजन इङलिश बोर्डिङ स्कुल र होराईजन जिबिएस, सिता मावि र कालिका मानव ज्ञानका बीचमा खेलहरु हुनेछन् ।
यसैगरी छात्रा भलिबलतर्फ सोमबार एभरेष्ट र होराईजनबीच फाईनल खेल हुने छ भने नवज्योती र दीप बोर्डिङ स्कुलका बिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
यसैगरी छात्रा कबड्डीको सेमीफाईनल खेलहरु सोमबार हुनेछन् । पहिलो सेमीफाईनलमा कालिका मावि र होराईजन जिबिएस तथा होराईजन इङलिश बोर्डिङ स्कुल र जनज्योती माविका बीचमा खेल हुनेछ ।