© २०२३
बुटवल, ३ पुस ।
लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान, प्रचारप्रसार, जनशक्ति उत्पादन र दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पर्यटन विकास परिषद र नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता गरिएको छ ।
काठमाडौमा एक कार्यक्रमका बीच नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषदका कार्यकारी निर्देशक रामु जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परिषदले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पर्यटकीय गन्तब्यहरुको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार ब्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरु चलाउँदै आएका छन् ।
लुम्बिनी प्रदेशका पर्यटन ब्यवसायीहरुको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरि संचालन गर्ने तयारीमा रहेको उनले बताए । नाथम र परिषदबाट ब्यवसायको गुणस्तर विधि, स्थानीय रुपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन ब्यवसायको प्रवद्र्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको काम समेत गर्ने उनले बताए ।
पुस महिनामा रुपन्देही, बर्दिया, बाँके र पाल्पा जिल्लामा पर्यटन ब्यवसायलाई लक्षित गरी तालिम संचालन गर्ने तथा थप कार्यक्रमहरु तय भएको उनले बताए । प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानीय रोजगार उत्पादनमा विशेष जोड दिईने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट पर्यटन ब्यवसायको विकास, बिस्तार र प्रवद्र्धन गरी लुम्बिनी प्रदेशलाई एक आकर्षक पर्यटनस्थलको रुपमा विकसित गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यहरु परिचित गराउने उद्देश्यका साथ परिषद गठन गरी संचालनमा ल्याएका छ ।