© २०२३
बुटवल ३ पुस ।
ऐतिहासिक, धार्मिक, सास्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले अत्यन्तै रमणीय र महत्वपूर्ण स्थान नुवोकोट गढीमा बुटवल १३ का युवाहरुले सरसफाइ गरेका छन् । बुटवल बजारबाट उत्तर तर्फको डाडा पर्यटकीय स्थलका रुपमा विकास हुन थालेपछि त्यहाँ जानेहरुको संख्या वृद्धि हँुदै जाँदा फोहोर थुप्रिन थालेको अवस्थामा युवाहरुले सरसफाई गरेका हुन् ।
बुटवल १३ का युवाहरु रोशन घिमिरे, कुशल गौतमसहितको अगुवाइमा युवाहरुको टोलीले त्यहाँ थुप्रिएका मदिराजन्य पदार्थका बोत्तलहरुदेखि विभिन्न किसिमका फोहोर संकलन गरी सरसफाई गरेका छन् । नुवाकोटमा घुम्न जानेहरु मध्ये केहीले मदिराजन्य पदार्थ सेवन गरी सार्वजनिक स्थलमा फ्याँक्ने गर्दा निकै फोहोर देखिएको अवस्थामा सरसफाइ गरेको घिमिरेले बताए । ऐतिहासिक स्थलमा जाने नयाँ पर्यटकका लागि त्यहाँ पुग्दा वातावरण सुन्दर रमणीय लागोस् भनेर सरसफाइ गरेको उनले बताए । सरसफाइ गर्दा संकलन भएको फोहोर बोराहरुमा जम्मा गरी नगरपालिकासग समन्वय गरी व्यवस्थापनको काम हुने उनले बताए ।
नुवाकोटबाट हिम श्रृंखलाहरु एवं प्राकृतिक मनोरम दृष्यका साथै बुटवलदेखि भैरहवासम्म तथा आसपासका दृष्य अवलोकन गर्न सकिन्छ । यस स्थानमा पुग्न बुटवल बेलवास शान्तिचोकदेखि पर्यटन मार्ग हँुदै मोटरबाटोमा जाँदा ११ किलोमिटर यात्रा गनुपर्दछ । त्यस्तै बुटवलको फुलवारीबाट कर्णेल उजिरसिंह सिढि मार्ग बुटवलबाट जाने हो भने करिब २ घण्टाको पैदल दुरीमा यहा पुग्न सकिन्छ ।
नुवाकोटमा भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रिस्मकालीन दरवारको भग्नावशेष, तोपाहान क्षेत्र, खर खजना घर, राजा सुद्धोधनका गुरु ऋषि कालदेवल –अशतोष) को आश्रम स्थल, ऐतिहासिक रानीकुवा र प्राकृतिक मनोरम दृष्य बोकेको अत्यन्तै रमणिय संरचना रहेका छन् ।
रुपन्देही र पाल्पाको मिलन विन्दुका रुपमा रहेको नुवाकोट गढीमा पर्यटन विकासका लागि नीजि क्षेत्रबाट करोडौ लगानीका योजना अगाडि बढाइएको छ ।
तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको ईतिहास पाइन्छ । अंग्रेजसँगको युद्धमा वीर कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले जितगढी र नुवाकोट गढीबाट विजय प्राप्त गरी नेपालीको शिर विश्वसामु उँचो बनाएका थिए ।