© 2026
काठमाडौं, ३ कात्तिक ।
नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नै जलेको निवास परिसरमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री खड्काले आफू सरकारसँग नडराउने बताएका हुन् ।
‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गर्दै भने, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’
खड्काले जेनजी आन्दोलनका क्रममा २४ भदौको दिन आफू घरमै रहेको स्पष्ट पारेका छन् । उनले आन्दोलनकारीहरूले घरमा पुगेर ढोका हान्न थालेपछि खाना खान समेत नपाएको गुनासो गरे ।
‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ–ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरूले बाहिर निकाल्नुभयो ।’
पूर्वमन्त्री खड्काले घरबाट निस्किएपछि छिमेकीकोमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको जानकारी दिए । ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो’, उनले भने, ‘त्यसपछि तराईतिर तीन–चार दिन बसेँ ।’
उनका अनुसार त्यसपछि उनी उपचारका लागि भारत पुगे । ‘बिरामी भएपछि उपचारका लागि भारत गएँ । डेङ्गु भएछ । त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट पनि भयो’, उनले बताए । खड्काका अनुसार उनी, उनकी श्रीमती र बच्चा सबै बिरामी परेका थिए ।
खड्काले अहिलेको सरकारप्रति टिप्पणी गर्न चाहेनन् । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ । मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, उनले भने, ‘परिस्थितिजन्य रूपमा बनेको सरकार हो । देशको जिम्मेवारी राजनीतिक दल र नागरिकहरूले लिनुपर्छ ।’