Butwal Today

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले सबै नागरिकलाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, “सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।” उनले मतदाता आफ्नो नाम आयोगको वेबसाइटबाट जाँच गर्न सक्ने पनि जानकारी दिइन् ।

१६ वर्ष पूरा भएका र नागरिकता प्राप्त गरेका प्रत्येक व्यक्तिले नाम दर्ता गर्न पाउने भए पनि मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पुगेपछि मात्र प्राप्त हुनेछ ।

निर्वाचन ऐनअनुसार मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नमिल्ने व्यवस्था थियो । तर, सरकारले आदेशमार्फत यसलाई क्रियाशील बनाएपछि असोज १२ देखि मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरू भएको हो । यो प्रक्रिया ३० कात्तिकसम्म चल्नेछ ।

निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार राजनीतिक दलको दर्ता कार्यक्रम आगामी १० मंसिरसम्म सम्पन्न हुनेछ । पहिलो निर्वाचन प्रणाली अन्तर्गत २ माघदेखि निर्वाचन अधिकृत कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रचार–प्रसार १८ फागुनसम्म चल्नेछ र त्यसपछि प्रचार निषेधको अवधि लागू हुनेछ ।

२१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुनेछ। समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृत कार्यालय स्थापना हुनेछ र १८–१९ पुसमा बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ ।