© २०२३
बर्दिया, ०२ कार्तिक ।
बढैयाताल गाउँपालिका वडा नम्बर ६ का सरोज थारु उमेले १६ वर्षका भए । शारदा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी पढाइसँगै कलामा रमाइरहेका छन् ।
विद्यालयबाट फर्केपछि, गृहकार्य सकेर उनी कहिले बाँस समाउँछन्, कहिले पराल, कहिले माटो । ती सामग्रीबाट उनले परेपछि मूर्तिको आकार दिन्छन् । सुरुमा परिवारले उनको यो कामलाई खेलौना सम्झे ।
तर जब उनले जनावरको मूर्ति बनाए त्यसपछि घरपरिवारका सदस्यले पनि उनलाई पत्याए । “पहिलो पटक मैले बनाएको मूर्ति हरिणको थियो,” उनले भने, “त्यसले मलाई अझै राम्रो बनाउन प्रेरणा दियो ।”
आजभोलि उनी घरको आँगनमा र कोठामा आफ्नै हातले बनाएका मूर्तिहरू सजाएर राखेका छन् । कुनै मूर्ति थारु परम्परागत जीवनशैली झल्काउँछ, कुनै जनावरको सजीव रूप झल्काउँछ ।
उनी बाँसको टुक्रा, खेतमा बाँकी रहेका पराल र घर वरिपरि भेटिने माटोबाट मूर्ति बनाउँछन् । “बाँस र पराल सजिलै पाइन्छ, माटो पनि आफ्नै खेतको हो,” उनी भन्छन्, “त्यो नै मेरो सामग्री हो, मेरो संसार हो ।”
सरोजको कला थारु समुदायको जीवनसँग जोडिएको छ । उनी थारुहरूको परम्परा, बस्ती, नाँच–गान र प्रकृतिबाट प्रेरित हुन्छन् । “हाम्रो संस्कृति नै कला हो,” उनी भन्छन्,– “थारु बस्तीमा परालले घर छापिन्छ, बाँसले टोपी, टोकरी, र ढोका बनाइन्छ । म त्यसैलाई मूर्तिको रूपमा देखाउँछु ।”
उनका केही मूर्तिहरूमा थारु पहिरानमा महिलाहरू मादल बजाउँदै गरेको दृश्य भेटिन्छ । कतिपय मूर्तिहरूमा बाघ र रानी, खेतमा काम गर्दै गरेका किसानहरू वा परम्परागत नाचमा रमाइरहेका युवतीहरूको आकृति भेटिन्छ ।
यी सबैले गाउँको मौलिकता र पहिचान झल्काउँछन् । तर सृजनशीलता सजिलो हुँदैन । सरोजलाई मूर्ति बनाउन उपकरण र समय दुवैको चुनौती हुन्छ । विद्यालयका गृहकार्य, परीक्षा तयारी र घरेलु कामबिच उनी कलाको लागि समय निकाल्छन् ।
बढैयाताल गाउँपालिकाका केही प्रतिनिधिहरूले पनि उनको काममा रुचि देखाएका छन् । वडा अध्यक्ष शुक्रराज सापकोटाले भनेका छन्, “हामी सरोज जस्ता प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ । गाउँमा कलाको विकास भयो भने पर्यटन र सांस्कृतिक पहिचान पनि बढ्छ ।”
गाउँका बुढापाकाहरू सरोजको काम देखेर गर्व गर्छन् । ६० वर्षीय स्थानीय खेमलाल थारु भन्छन्, –“पहिले हामीले बाँस र पराल खेतीका लागि मात्र प्रयोग गथ्र्यौं । अहिले सरोजले देखायो, त्यसबाट पनि सुन्दर मूर्ति बनाउन सकिन्छ ।