© २०२३
बुटवल, २ पुस ।
मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा तेस्रो स्थान ओगटेको छ । अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।
खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन् ।
त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए । खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए ।
खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ ।
गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन । सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो ।
उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो । तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो ।