© २०२३
भैरहवा, २८ असोज ।
केही वर्ष अगाडि भैरहवाको दिपावली मेला अवलोकन गर्न रुपन्देही जिल्ला मात्र नभई कपिलवस्तु, नवलपरासी र छिमेकी देश भारतबाट पनि आउनेको संख्या उल्लेख्य हुन्थ्यो । विशेष गरी भैरहवाको बैंकरोड, गल्लामण्डी र मैत्रीपथलाई केन्द्र बनाएर दिपावलीको मेला लाग्ने गथ्र्यो । यी क्षेत्रका व्यपारीहरु अझ मारवाडी समुदायका व्यपारीहरु घर र प्रतिष्ठानको अगाडि केराको खाँबो गाडेर त्यसमा बाँस चिरेर बनाइएका घेरामा माटाका पालामा दिपावली गरिन्थ्यो ।
ठाउँ ठाउँमा बिभिन्न सभ्य सांस्कृतिक कार्यक्रमहरु हुन्थे । आवारोड, मैत्रीपथ, मिलन चोकलाई केन्द्र बनाएर यी सांस्कृतिक कार्यक्रम हुँदा छेउँछाउँका पसलहरु भरिभराउ हुन्थे । तिहारको दिन फोटो स्टुडियोहरुमा पालो कुरेर फोटो खिचाउनु पथ्र्यो । तिहारको दिन ८ बजेपछि बिरलै नगरवासी घरमा भेटिन्थे ।
तर अहिले त्यो रौनक हराएको छ । दिपावलीकालागि प्रख्यात भैरहवा अहिले तिहारको दिन पनि स्थानीयहरु खासै बाहिर देखिदैनन् । भैरहवाबाहिरका दर्शकको आगमन शून्य बराबर छ । यहीतिहारको बेला प्रायः सुनसान हुने भैरहवा बजारलाई उल्लासको रंगले भर्न एक युवा उद्यमीले विगत नौ वर्षदेखि एकल प्रयास गर्दै आएका छन् । रहिश आफ्ना साथीहरुसँग दिपावलीका हरेक मेला हेर्न पुग्थे, यहाँको सांस्कृतिक कार्यक्रममा रमाउँथे । उनले विगतमा दिपावलीमा हुने गरेका क्रियाकलाप अहिले पनि होस्, भैरहवामा पहिलेको दिपावली फर्कियोस् भन्ने उद्देश्य सहित हरेक वर्ष दिपावलीकै दिनमा एकल प्रयासमा सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । कार्यक्रमको दशौ वर्ष सम्म आइपुग्दा उनले एक्लै यसमा करिब १० करोड रुपैयाँ खर्च गरिसकेका छन् ।
“एउटा फुलबारीमा बिभिन्न जातका फूलहरु मिलेर सुन्दरता थपे जस्तै सबै धर्मलाई समान माया गर्नुपर्छ भन्ने मेरो मान्यता हो”, रहिशले भने, “भैरहवाको त्यो रौनक फेरि ल्याउनुपर्छ भन्ने उद्देश्यले १० वर्ष देखि काम गर्दै आएको छु, कुनै सरकारी निकाय वा कसैसँग एक रुपैयाँ सहयोग मागेको छैन ।”
यस वर्ष उनले गर्ने सांस्कृतिक कार्यक्रम दशौं संस्करणमा पुगेको छ। साउण्ड र म्युजिकको व्यवसायमा १८ वर्ष बिताएका युनिक साउण्डका सञ्चालक रहिश खानले हिन्दुहरूको पर्व लक्ष्मी पूजाको अवसरमा ‘युनिक दिपावली फेस्टीवल २०८२’ आयोजना गरेका छन् ।
यो महोत्सव रहिशको एकल लगानी र साहसको कथा हो, जसले तिहारको सांस्कृतिक महत्वलाई नगरवासीको मनोरञ्जनसँग जोड्दै आएको छ । लक्ष्मी पूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय र तिहारको अनुभूति गराउन सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका खानले यसलाई केवल व्यवसाय नभई संस्कृतिको सम्मान र स्थानीय कलाकारको प्रवद्र्धन गर्ने माध्यम मानेका छन् ।
यो वर्षको उत्सव २०८२ कात्तिक ३ गते भैरहवाको मिलनचोकमा साँझ ६ बजेदेखि १२ बजेसम्म हुने गरी तयारी गरिँदैछ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रत्येक वर्ष झै सडकको एक भागमा स्टेज बन्नेछ भने सडकलाई नै झिलिमिली बत्ती र सजावटले दुलहीझैँ सिँगारिनेछ । नृत्य, गायन लगायतका सांस्कृतिक प्रस्तुतिहरूले उक्त साँझलाई स्मरणीय बनाउनेछ ।
फेस्टिभलको महत्व यसमा पनि छ कि यसले सबै संस्कृतिलाई सम्मान गर्ने र स्थानीय कलाकार तथा प्रतिभालाई आफ्नो कला देखाउने महत्वपूर्ण अवसर प्रदान गर्दछ । विगतमा जस्तै यस वर्ष पनि चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेरहिशले बताए । तर कलाकारको नाम गोप्य राखी सिधै स्टेजबाट “सरप्राइज” दिने पुरानो परम्परालाई निरन्तरता दिइएको छ ।
रहिश खानको एकल प्रयासको यो उत्सवलाई उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गर्ने गरेको छ । सुरक्षा निकायमा समन्वय रअन्य निकायसँग समन्वय गराई दिने काम मात्र संगठनले गरिदिएको यसका अध्यक्ष सचिन रोक्काले बताए । उनले रहिशको एकल प्रयास सह्रानीय रहेको बताउँदै यसमा संगठनहरुले पनि उत्तिकै दायित्व निभाउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । “अहिलेको आर्थिक अवस्था, सुरक्षा लगायत विभिन्न कारणहरु रहेका छन्”, रोक्काले भने,“तर हामी विगतमा भैरहवामा मनाइने तिहारलाई पहिलेकै अवश्थामा चलायमान गराउन प्रयास भने गरिरहेका छौं, यसमा रहिश भाईको ठूलो योगदान रहेको छ ।”
रंगहीन बन्न थालेको तिहारलाई जीवन्तता दिन आयोजना गरिएको महोत्सवले ५० हजारभन्दा बढी दर्शकहरूलाई तान्ने अपेक्षा गरिएको छ । मनोरञ्जनका साथै केही हदसम्म आर्थिक चलायमान हुने आशाले यो प्रयास भैरहवाका लागि एउटा उत्साहको स्रोत बनेको छ । भैरहवाका साथै छिमेकी जिल्ला र भारतबाट समेत दर्शकहरू आउने गरेकोले यसले भैरहवालाई सांस्कृतिक गन्तव्यको रुपमा पनि चिनाएको छ।करिब १० लाख रुपैयाँभन्दा बढीको लगानीमा हुन लागेको यो कार्यक्रम भैरहवाको समग्र प्रवद्र्धनका लागि गरिएको खानको भनाइ छ । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले गर्नेछन् ।
आयोजक रहिश खानले यसै माध्यमबाट समस्त नगरवासी तथा शुभेच्छुकहरूलाई स–परिवार उपस्थित भई तिहारको यो सांस्कृतिक रंगीन साँझलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन् । खाँनको यो निरन्तरको प्रयासले साँच्चै नै भैरहवाको तिहारलाई हरेक वर्ष उज्यालो र जीवन्त बनाउँदै लगेको छ ।