© २०२३
कपिलवस्तु, २८ असोज ।
कपिलवस्तु जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा कुष्ठरोगका १ सय २८ नयाँ बिरामी फेला परेका छन् ।
ल्याप्रोसी मिसन नेपालको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालालाई कुष्ठरोग अभिमुखीकरण तथा अन्तरक्रियामा सो जानकारी दिइएको हो ।
स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय कुष्ठ निर्देशक मोहम्मद ईरफानले जिल्लामा फेला परेका नयाँ कुष्ठ रोगी मध्य ८५ जना एमबिको अवस्थामा र ४३ जना पिबीको अवस्था रहेको जनाए ।
धेरै जीवाणु भएको कुष्ठरोगको केशलाई एमबी र थोरै जीवाणु भएको कुष्ठरोगको केशलाई पिबी भन्ने गरिएको छ । एमबि गम्भीर र सङ्क्रामक प्रकारको हुने भएकाले उपचार १२ महिनाको हुने र पिबी हल्का गम्भीर हुने भएकाले उपचार अवधि ६ महिनाको हुने गरेको जनाइएको छ ।
जिल्लामा फेला परेका कुष्ठ रोगी मध्य सबैभन्दा बढी एमबी अवस्थाका कुष्ठ रोगी कृष्णनगर नगरपालिकामा छन् । सो पालिकामा १७ जनामा एमबी केश र ४ जनामा पिबी केश भेटिएको छ ।
कृष्णनगर पछि शिवराजमा १२, बुद्धभूमिमा ११ र कपिलवस्तु नगरपालिकामा १० वटा एमबीका केश भेटिएका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल १ सय ८८ नयाँ कुष्ठ रोगी फेला परेकोमा गत आवमा सो सङ्ख्या तुलनात्मक रूपमा घटेको छ ।
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा कुल ५ सय ७७ कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । प्रदेशमा सबै भन्दा बढी रुपन्देही जिल्लामा १ सय ६४ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए ।
सरकारले सन् २०३० सम्ममा कुष्ठरोगका नयाँ बिरामीको दर प्रति १० लाख जनसङ्ख्यामा शून्य पु¥याउने लक्ष्य लिएको छ । त्यसै गरि १५ वर्ष मुनीका बालबालिका प्रति दश लाखमा नयाँ कुष्ठ रोगी पहिचान दर गत वर्ष १७ दशमलव ३ रहेकोमा सन् २०३० सम्ममा १ भन्दा कम बनाउने लक्ष्य छ ।
तर गत वर्षको तथ्याङ्कमा प्रति १० हजार जनसङ्ख्यामा गत आवको कपिलवस्तु जिल्लाको नयाँ कुष्ठ रोगी पहिचान दर १ दशमलव ८१ छ । प्रदेशभरमै सबै भन्दा बढी पहिचान दर रहेकोमा पश्चिम नवलपरासीको १ दशमलव ८७ देखिएको छ ।
पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा कपिलवस्तु जिल्लामा कुल ७ सय ३३ जना नयाँ कुष्ठ रोगी फेला परेको क्षय कुष्ठ निर्देशक मोहम्मद ईरफानले जनाए ।
सन् २०१० मा कुष्ठरोग जनस्वास्थ्य समस्याको रूपमा निवारण भएपछि कुष्ठरोगको सुचांकहरूमा स्थिरता आउनु, स्थानीय तह र सरोकारवालाको प्राथमिकतामा नपर्नु र कुष्ठरोग सम्बन्धी दक्ष जनशक्तिको अभाव हुनु, कुष्ठ रोगी प्रतिको भेदभाव र लाञ्छना कायमै रहनु तथा प्रेषण संयन्त्र प्रभावकारी बन्न नसक्दा समस्या समाधान हुन नसकेको उनले स्पष्ट पारे ।
सरकारले सबै स्वास्थ्य संस्थामा नियमित कुष्ठरोग सेवा प्रदान गर्दै आएको, परीक्षण सहित सक्रिय विधिबाट नयाँ कुष्ठ रोगी पत्ता लगाउने कार्यक्रम प्राथमिकतामा रहनु, बिरामीलाई निःशुल्क बहु उपयोगी औषधी उपचार विधि (एमडिटी) प्रदान, कुष्ठरोगका कारण अपाङ्गता भएका बिरामीको लागि निःशुल्क सुधारात्मक शल्यक्रिया र रोकथामका लागी एक मात्रा रिफाम्पिसिनको कार्यक्रमले प्राथमिकता पाएको उनी बताउँछन् ।
कुष्ठरोग सङ्क्रमणको खोज पडतालको कार्यक्रमका कारण नयाँ पत्ता लाग्ने सङ्ख्या बढी देखिएको र नागरिकमा कुष्ठरोग बारे सचेतना बढ्दै गएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए ।
सङ्क्रमण र सङ्क्रमित व्यक्ति प्रति गरिने भेदभाव र लाञ्छना हटाउन सञ्चार क्षेत्रको भूमिका अहम् हुने उनले बताए । कुष्ठ रोगको समयमै पहिचान र उपचारका लागि सचेतना प्रवाहमा भूमिका निर्वाह गर्न उनले सञ्चारकर्मीहरू सँग आग्रह गरे ।