Butwal Today

भारतमा शर्मा, नेपालमा विश्वकर्मा : आत्मनिर्भरताको प्रतीक मुख्तार बडी कारखाना

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

बुटवल, २६ असोज ।

बिहानैदेखि बुटवल–१६ सेमलारको एउटा कुनामा अनौठो संगीत बज्छ — फलाम काट्ने आवाज, वेल्डिङको चमक, पेन्टको गन्ध र मजदुरहरूको जोशिलो कुरा । यही आवाज र उज्यालो भित्र लुकेको छ—परिश्रम, आत्मविश्वास र सृजनाको कथा । यही ठाउँमा चल्छ मुख्तार बडी कारखाना, जहाँ फलामका टुक्राहरूले नयाँ जीवन पाउँछन् र बाटोमा दौडिने बसहरू जन्मिन्छन् ।

भारतको बिहारबाट बुटवलसम्मको यात्रा

करिब ४२ वर्षअघि भारतको बिहारबाट एक युवक रोजगार खोज्दै बुटवल आइपुगे । उनको नाम मुख्तार शर्मा थियो । हातमा पैसा थिएन, तर आँखामा सपना र मनमा अठोट थियो । सानो मोटर ग्यारेजमा काम गर्दै उनले फलामसँगको मित्रता गाँसे । वेल्डिङ, काट्ने, जोड्ने सीप सिक्दै उनी लेवरबाट मिस्त्री बने ।

 २०६३ सालमा अंगिकृत नेपाली नागरिकता पाएपछि उनले एउटा ठूलो निर्णय गरे — आफ्नै नाममा उद्योग सुरु गर्ने । त्यही सपना पूरा भयो मुख्तार बडी कारखानाका रूपमा । शर्मा थरले चिनिने मुख्तार नेपाल आएपछि आफ्नै धर्म र पेशासँग मेल खाने गरी “विश्वकर्मा” थर ग्रहण गरे । उनी हाँस्दै भन्छन्, “भारतमा शर्मा थिएँ, तर नेपालमा विश्वकर्मा बनेँ। मित्रहरूले भने — तिमीले विश्वकर्मा लेख, यो पेशासँग पनि मिल्छ र ग्रहदशा पनि राम्रो हुन्छ । मैले स्विकारें, किनभने यही माटोले मलाई कर्मको अर्थ सिकायो ।”

मैनाबगरमा सुरु भएको कारखाना सानो ठाउँले नछोएपछि सेमलारमा सारियो । करिब १ करोड रुपैयाँभन्दा बढी लगानी आफ्नै बचत र पसिनाबाट जुटाएका मुख्तारले अहिले वर्षमा ५०–७० वटा बसका चेसिसहरूलाई नयाँ स्वरूप दिन्छन् ।

यहाँ प्रत्येक गाडी वेल्डिङ, काट्ने, ठोक्ने, रंगाउने र सिट राख्ने क्रममा चारदेखि छ महिनाभित्र नयाँ जीवन पाउँछ । कारखानामा हाल ६ जना स्थायी कर्मचारी छन् भने १ सय ४५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सबैले औसत ५० हजार मासिक तलब बुझ्छन् । मुख्तारका अनुसार कारखानाले वर्षमा करिब ७२ लाख रुपैयाँसम्म आम्दानी गर्छ र उनले वार्षिक १२ लाखभन्दा बढी कर तिर्छन् ।

“काम मेरो मन्दिर हो, कामदार मेरा पुजारी”

मुख्तार भन्छन्, “काम मेरो मन्दिर हो र कामदार मेरा पुजारी हुन् ।” बिहान पूजा गरेर मात्र उनले दिनको सुरुवात गर्छन् । उनको दृष्टिमा काम केवल व्यापार होइन—धर्म हो । उनी भन्छन्, “फलामका टुक्रा जोडेर बस बनाउँदा म सृष्टिको काम गर्छु । त्यो मेरो पूजा हो ।”

कारखानामा कामदारहरूलाई उनी परिवारका सदस्य झैं व्यवहार गर्छन् । उनीहरूलाई सम्मान र विश्वासका साथ काम गर्न प्रेरित गर्छन् । यही कारण उनका कामदारहरू केवल मजदुर होइनन्, सृजनाका सह–भागी हुन् ।

मुख्तारका पाँच छोराछोरी र श्रीमती बुटवल–२ पाखापानीमा बस्छन् । जेठा छोरा मेकानिकल इन्जिनियर हुन् र बसको डिजाइनमा उनको प्रमुख भूमिका हुन्छ । एक छोरी डाक्टर भएर काठमाडौंको केएमसी मेडिकल कलेजमा कार्यरत छिन् । दुई जुम्लिया छोरा अस्ट्रेलिया जाने तयारीमा छन् भने कान्छी छोरी मास्टर तहमा पढ्दैछिन् । मुख्तार गर्वका साथ भन्छन्, “सबै जना आफ्नै क्षेत्रमा कर्म गरिरहेका छन् — यही मेरो सम्पत्ति हो ।”

आत्मनिर्भरताको उदाहरण

मुख्तारका लागि पैसा भन्दा ठूलो कुरा आत्मसन्तुष्टि र स्वाभिमान हो । “पैसा त कमाइन्छ, तर आत्मनिर्भर बन्नु नै असली धन हो,” उनी भन्छन् ।

उनको कारखाना केवल उत्पादन गर्ने ठाउँ होइन, रोजगारी र सीप सिकाउने विद्यालय हो । उनले धेरै बेरोजगार युवालाई काम र सीप दिएको गर्व गर्छन् ।

तर उनलाई दुःख पनि छ — नेपालका युवाहरू विदेशिने क्रम तीव्र छ । “यहाँ काम गर्न युवाले हिम्मत गरे, उनीहरूले पनि बाँच्न सक्छन्,” मुख्तार भन्छन्, “मजदुरको अभावले अहिले भारतका मजदुरहरू ल्याउनुपर्छ ।”

रुपन्देहीमा बडी बिल्डिङ उद्योगको केन्द्र

आज रुपन्देहीमा करिब १ सय बडी कारखानाहरू छन्, जसमा मुख्तार बडी कारखाना अग्रणी मानिन्छ । यी कारखानाहरूमा करिब १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । कुसुम, कालिका, सरोज, शिवशक्ति जस्ता बडी विल्डर्सले पनि बस, ट्रक र जीपका चेसिसलाई नयाँ स्वरूप दिइरहेका छन् ।

हाल पश्चिम नेपालका सडकहरूमा गुडिरहेका मालिका हाइपर, जेट स्टार, हाइवे ह्याकर, देवराज मेजेष्टी, जय माता दी लगायतका लक्जरी बसहरूको बडी पनि यही क्षेत्रका कारखानाहरूमा बनेका हुन् । दशैं–तिहार जस्ता चाडपर्वमा यिनै बसहरूले हजारौं यात्रुका सपना साकार पार्छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले केही वर्षअघि मालिका हाइपर बस सञ्चालनमा ल्याउँदा धेरैले त्यसलाई “जोखिमपूर्ण सपना” भनेका थिए । तर आज उनको निर्णयले नयाँ प्रवृत्तिलाई मार्गदर्शन गरेको छ । भुसालका बसहरू अहिले पश्चिम नेपालको अधिकांश रुटमा यात्रुहरूका पहिलो रोजाइ बनेका छन् ।

त्यसैगरी, नारायण घिमिरेका जेट स्टार बसहरू, मोति पौडेलका हाइवे ह्याकर, देवराज खनालका देवराज मेजेष्टी, अर्जुन बन्जाडेका जय माता दी बसहरूले पनि यात्रु सेवामा नयाँ परिभाषा दिएका छन् ।

यी सबै बसहरूमा आरामसँगै सुरक्षा, समयपालन र सेवाको गुणस्तरमा विशेष ध्यान दिइन्छ। बसहरूमा आधुनिक सिसिटिभी, जीपीएस ट्र्याकिङ, मोबाइल चार्जिङ पोइन्टदेखि लिएर मनोरञ्जन स्क्रिनसम्म सुविधा उपलब्ध छन्।

सृजनाको धर्म

फलामका टुक्राहरू जोडेर बस बनाउने मुख्तार बडी कारखानामा केवल मेशिनहरू चल्दैनन् — त्यहाँ चल्छ जीवन, परिश्रम र आस्थाको शक्ति। मुख्तार भन्छन्, “भगवानले हात दिएका छन्, तर कर्म गर्न हामीले पर्छ ।”

जब बुटवलको सडकमा नयाँ बस दौडिन्छ, त्यसको धातु र रंगभित्र मुख्तारका सपना पनि दौडिरहेका हुन्छन् । मुख्तार विश्वकर्माको कथा केवल सफल उद्यमीको कथा होइन—यो आत्मनिर्भर नेपालको प्रतिक हो, जसले देखाउँछ कि परिश्रम र आस्थाबाट फलाम मात्र होइन, भाग्य पनि गढ्न सकिन्छ ।