Butwal Today

गोली चलाउने आदेश ओली र मैले दिएका होइनौ – रमेश लेखक

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २४ असोज ।

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउने कुनै आदेश नदिएको स्पष्ट पारेका छन् ।

शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री वा गृहमन्त्रीको निर्देशनमा गोली चलाइएको भन्ने चर्चा निराधार भएको बताए ।

‘प्रधानमन्त्रीज्यू वा गृहमन्त्रीले आदेश गरेको भन्ने हल्ला फैलाइएको छ, तर यो सरकार वा मन्त्रालयको तहमा निर्णय हुने विषय नै होइन,’ लेखकले भने, ‘त्यस्ता कुनै आदेश गरिएको छैन ।’

आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका लेखकले सो घटनामा घुसपैठ भएको तथ्य सत्य साबित भएको पनि दाबी गरे ।

‘घुसपैठ भएको कुरा मैले होइन, आन्दोलनका आयोजकहरूले नै पहिले बताएका थिए,’ उनले भने, ‘पछि त्यसको यथार्थ पनि प्रमाणित भयो, जसका कारण यस्तो पीडादायी घटना हुन पुग्यो ।’

पूर्व गृहमन्त्री लेखकले आन्दोलनका घटनाबाट सबैले गम्भीर शिक्षा लिनुपर्ने र यस्ता घटनाहरू दोहोरिन नदिन राजनीतिक तथा सुरक्षात्मक तहमा आवश्यक सुधारका कदम चाल्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?