© २०२३
काठमाडौँ ।
सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका नेताहरूको सुरक्षा व्यवस्थामा कटौती गर्न थालेको छ । हालसम्म नेपाल प्रहरीका करिब डेढ सय सुरक्षाकर्मी फिर्ता भइसकेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
‘अहिलेसम्म करिब डेढ सय जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । प्रदेशतिरबाट पनि सुरक्षाकर्मी फिर्ता भएका छन् । त्यहाँको विवरण प्राप्त हुन बाँकी छ । बेलुकासम्म मापदण्डबाहिर खटिएका सबै सुरक्षाकर्मी फिर्ता भइसकेका हुनेछन्,’ स्रोतले नेपालखबरसँग जानकारी दियो ।
पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका ३० जना सशस्त्र प्रहरीमध्ये १४ जना फिर्ता गरिएको छ । अब त्यहाँ प्रहरी निरीक्षक (सई) को कमाण्डमा १६ जना सशस्त्र प्रहरी रहनेछन् ।
त्यसैगरी, केपी शर्मा ओलीको सुरक्षाबाट पनि १३ जना सशस्त्र प्रहरी फिर्ता गरिएका छन् । अब उनको सुरक्षामा पनि सईको कमाण्डमा १६ जना सशस्त्र प्रहरी रहने व्यवस्था मिलाइएको छ ।
नेपाल प्रहरीले पनि त्यहाँ खटिएका मापदण्डभन्दा बढी प्रहरी फिर्ता बोलाएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा भने हाल धेरै प्रहरी नरहेको बताइएको छ । उनको निजी निवास जलेर डेरा सरेको अवस्थामा रहेकाले उनले धेरै सुरक्षाकर्मी प्रयोग गरेका छैनन् ।
उनको सुरक्षामा पनि मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटिएको पाइएमा फिर्ता गरिनेछ । अन्य विभिन्न पूर्व पदाधिकारी तथा बहालवाला व्यक्तिहरूले मापदण्डभन्दा बढी लिएका सुरक्षाकर्मीहरू पनि फिर्ता गर्न बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ ।
बैठकपछि गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनलाई आवश्यक निर्देशन दिएको छ । सो निर्देशन अनुसार करिब २५० जना नेपाल प्रहरी फिर्ता गरिनेछन् ।