© 2026
नेपालको सन्दर्भमा राजनीति केवल सत्ताको खेल होइन, बरु समाजलाई दिशा दिने, भविष्यको बाटो खोल्ने र नागरिकमा आशा जगाउने माध्यम हो भन्ने कुरा बारम्बार पुष्टि भएको छ।
इतिहासले देखाएको छ कि जब राजनीति केवल पद, शक्ति र स्वार्थकै घेरामा सीमित हुन्छ, त्यसबेला जनतामा निराशा फैलिन्छ, तर जब यसले नयाँ दृष्टि, आदर्श र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बाटो खोल्छ, त्यसबेला मात्र यसको सार्थकता प्रमाणित हुन्छ ।
हाम्रो राजनीतिक यात्रा सधैं दुई तहमा अगाडि बढ्दै आएको छ—एकातिर तिनीहरू हुन्छन् जसलाई हामी नेता भन्छौं, जसले ठूलो सपना देख्छन्, विचार ल्याउँछन्, आन्दोलनलाई दिशा दिन्छन् र जनतालाई उत्साहित पार्छन् ।
उनीहरूले आन्दोलनको समयमा आशा जगाउँछन्, संविधान निर्माणमा दीर्घकालीन लक्ष्य कोर्छन् र चुनावताका जनतामाझ उज्यालो भविष्यको वाचा गर्छन्। अर्कोतिर, त्यही सपना र दृष्टिलाई व्यवहारमा उतार्ने जिम्मा भने व्यवस्थापक मानसिकता भएका पात्रहरूमाथि आउँछ ।
व्यवस्थापकले स्रोत–साधनको संयोजन गर्छन्, प्रशासनिक दक्षता देखाउँछन्, बजेट र समयलाई सन्तुलित गर्छन्, नीति कार्यान्वयन गर्छन् र दैनन्दिन कार्य सुनिश्चित गर्छन् ।
नेपालको लोकतान्त्रिक व्यवस्थामा यी दुई पक्षहरू छुट्टै छैनन्, बरु गहिरो रूपमा गाँसिएका छन्, किनकि एउटाले मात्र काम गर्दा असन्तुलन उत्पन्न हुन्छ। केवल नेताले मात्र भविष्य उज्यालो देखाइदिएर पुग्दैन, त्यो दृष्टि व्यवहारमा उतार्ने व्यवस्थापन प्रणाली नहुँदा जनताको अपेक्षा अधुरै रहन्छ ।
त्यस्तै, केवल व्यवस्थापक भएर नियम, प्रक्रिया र स्रोतलाई मिलाएर बस्दा स्थायित्व त हुन्छ, तर उत्साह, भावनात्मक प्रेरणा र सामाजिक रूपान्तरणको शक्ति हराउँछ। यही कारणले नेपालजस्तो संक्रमणशील लोकतन्त्रमा दुवै गुण—नेताको दृष्टि र व्यवस्थापकको संयोजन—समान रूपमा आवश्यक छ, अन्यथा हाम्रो राजनीति बारम्बार अधुरो र असन्तुलित बन्ने खतरा रहिरहन्छ ।
१. राजनीतिक नेताको भूमिका
क) दृष्टि निर्माण
राजनीतिक नेताको पहिलो र सबैभन्दा महत्वपूर्ण भूमिका भनेको समाजलाई भविष्यको बाटो देखाउने हो । नेता भन्नाले केवल चुनाव जित्ने व्यक्ति मात्र होइन, बरु दीर्घकालीन दृष्टि निर्माण गर्ने, देशलाई कुन दिशामा लैजानुपर्ने भन्ने स्पष्ट धारणा दिने व्यक्ति पनि हो।
नेपालका उदाहरणमा हेर्ने हो भने, बिपी कोइरालाले लोकतान्त्रिक समाजवादको अवधारणा प्रस्तुत गरे, जसले देशलाई नयाँ राजनीतिक चेतना दियो । त्यस्तै, गणतन्त्र स्थापनाको आन्दोलनमा नेताहरूले ‘राजाको निरंकुश शासन अन्त्य’ र ‘जनताद्वारा जनताको शासन’ भन्ने स्पष्ट दृष्टि अघि सारे ।
दृष्टि निर्माण भन्नाले केवल नारा वा घोषणापत्रमा शब्द लेख्नु मात्र होइन; देशको संरचना, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कूटनीति र सामाजिक न्यायसम्मको दीर्घकालीन मार्गचित्र तय गर्नु हो। जब नेतासँग यस्तो दृष्टि हुँदैन, राजनीति दिशाहीन हुन्छ ।
त्यसैले, नेताले आफ्ना व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर, सम्पूर्ण समाजलाई दीर्घकालीन लक्ष्यमा जोड्न सक्ने क्षमताको प्रदर्शन गर्नुपर्छ ।
ख) जनताको विश्वास जगाउने
राजनीतिक नेताको असली शक्ति हतियार वा पद होइन, बरु जनताले दिएको विश्वास हो। विश्वासबिना नेताले कुनै पनि परिवर्तन सम्भव बनाउन सक्दैन। विश्वास भनेको केवल चुनावताका वाचा गरेर प्राप्त हुने कुरा होइन; त्यो त निरन्तर अभ्यास, इमानदारी, पारदर्शिता र जनताको दुःखसुखमा साथ दिन सक्ने गुणद्वारा कमाइने पूँजी हो ।
नेपालमा पटक–पटक देखिएको छ—जब नेताले जनतासँगको विश्वास गुमाउँछन्, सडक आन्दोलन उठ्छ, सरकार ढल्छ, र नयाँ राजनीतिक संरचना जन्मिन्छ । जनताले २०४६ सालको जनआन्दोलनमा लोकतन्त्रमा विश्वास गरे, २०६२/६३ सालको आन्दोलनमा गणतन्त्रको सपना देखे।
यी सबै आन्दोलन नेताहरूको आह्वान मात्र होइन, जनताले तिनलाई विश्वास गरेको कारणले सफल भए । यसरी भन्न सकिन्छ, राजनीतिक नेताले पाएको जनविश्वास नै उसको सबैभन्दा ठूलो शक्ति हो ।
ग) परिवर्तनको प्रेरणा
राजनीतिक नेताले केवल स्थायित्वलाई मात्र खोज्दैन; उसले समाजमा आवश्यक परे परिवर्तन ल्याउने जिम्मेवारी लिन्छ। परिवर्तन कहिलेकाहीँ पीडादायी हुन्छ, तर त्यो समाजलाई दीर्घकालीन रूपमा सक्षम बनाउन अपरिहार्य हुन्छ ।
नेपालमा हरेक ठूलो परिवर्तन—जस्तै राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको विसर्जन, राजतन्त्रको अन्त्य—सबै नेताहरूको पहल र जनआन्दोलनमार्फत सम्भव भयो । नेता बिना परिवर्तनको कल्पना गर्न सकिँदैन।
व्यवस्थापकहरूले विद्यमान संरचनालाई चलाइराख्छन्, तर नेताले त्यस संरचनाको कमजोरी देख्छन्, नयाँ मार्ग खोज्छन् र समाजलाई त्यतातर्फ धकेल्छन् । नयाँ संविधानको निर्माण, समावेशीकरणको नीति, वा संघीयताको अभ्यासयी सबै नेताको राजनीतिक पहलले मात्र जन्माएका उपलब्धि हुन् ।
घ) भावनात्मक सम्बन्ध
राजनीतिक नेताको अर्को महत्वपूर्ण पक्ष भनेको जनताको भावना बुझ्ने र त्यससँग जोडिन सक्ने क्षमता हो । नेता भनेको केवल नियम बनाउने वा नीति कार्यान्वयन गर्ने व्यक्ति मात्र होइन, बरु जनताको दुःख, पीडा, आकांक्षा र आशा महसुस गर्ने व्यक्तित्व हो ।
नेपालमा प्राकृतिक विपत्ति जस्तै भूकम्प, महामारी वा बाढीपहिरोको समयमा जनताले नेताबाट अपेक्षा गर्ने कुरा भनेकै भावनात्मक साथ हो । जब नेता विपत्तिको घडीमा गाउँ–बस्ती पुग्छन्, राहतको मात्र होइन, भावनात्मक सहानुभूति देखाउँछन्, त्यहीबेला जनताको मनमा ‘यो हाम्रो नेता हो’ भन्ने भावना जन्मिन्छ ।
त्यसैगरी, सामाजिक विभाजन, जातीय वा क्षेत्रीय असमानतामा नेताले भावनात्मक रूपमा सबैलाई जोड्न सके मात्र समाज एकजुट हुन्छ । उदाहरणका लागि, २०६२/६३ को आन्दोलनमा नेता केवल राजनीतिक घोषणामै सीमित भएनन्, बरु विभिन्न जातजाति, क्षेत्र र वर्गबीच एकता कायम गर्न भावनात्मक सम्बन्ध बनाए, जसको फलस्वरूप ठूलो परिवर्तन सम्भव भयो ।
२. राजनीतिक व्यवस्थापकको भूमिका
क) प्रशासनिक संयोजन
राजनीतिक व्यवस्थापकको पहिलो जिम्मेवारी भनेको दृष्टि वा घोषणालाई व्यवहारमा उतार्ने प्रशासनिक संयोजन हो। राजनीतिक नेताले ठूलो सपना देखे पनि त्यो सपना पूर्ण गर्न संसाधन, कर्मचारी, बजेट र समय व्यवस्थापन बिना सम्भव हुँदैन।
व्यवस्थापक मानसिकता भएको पात्रले यिनै सबै स्रोतहरूलाई सन्तुलनमा ल्याउने काम गर्छ । नेपालमा संघीय व्यवस्था लागू भएपछि प्रशासनिक संयोजन अझै जटिल भएको छ। संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँड, बजेटको सही वितरण, कर्मचारी खटाउने प्रक्रिया यी सबैमा व्यवस्थापकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
उदाहरणका लागि, स्वास्थ्य क्षेत्रमै मात्र हेर्ने हो भने, सरकारले ‘सबैलाई आधारभूत स्वास्थ्य’ भन्ने दृष्टि दिएको छ, तर त्यो कार्यान्वयन गर्न बजेट व्यवस्थापन, औषधि आपूर्ति, तालिम प्राप्त स्वास्थ्यकर्मी खटाउने जस्ता कार्य व्यवस्थापकको क्षमता बिना सम्भव हुँदैन ।
ख) नीति कार्यान्वयन
राजनीतिक घोषणाले मात्र जनताको जीवनमा परिवर्तन ल्याउन सक्दैन । चुनावमा घोषणा गरिएका कार्यक्रमहरू, संसदमा पारित नीति वा मन्त्रिपरिषद् स्तरमा बनेका निर्णयलाई व्यवहारमा उतार्ने काम व्यवस्थापकीय सोचले गर्छ ।
]नीति कार्यान्वयन भन्नाले केवल कागजमा कार्यक्रम बनाउनु होइन, बरु त्यसको ठोस परिणाम सुनिश्चित गर्नु हो। नेपालमा धेरै पटक राम्रो नीति बनेको छ—जस्तै शिक्षा निःशुल्क, रोजगारका अवसर सिर्जना, आधारभूत पूर्वाधार विकास तर ती कार्यान्वयनमा कमजोर हुँदा जनता निराश भएका छन्।
त्यसैले, व्यवस्थापकको जिम्मेवारी भनेको योजनालाई समयमै सुरु गर्ने, सही ढंगले सञ्चालन गर्ने र परिणाम नापेर जनतालाई जवाफ दिने हो। उदाहरणका लागि, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कागजमा राम्रो योजना थियो, तर व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित नतिजा दिन सकेन ।
ग) स्थायित्व कायम राख्ने
राजनीति मूलतः अस्थिरतामा आधारित हुन्छ, किनभने नेताहरूको प्रतिस्पर्धा, आन्दोलन, र सत्ता–परिवर्तन निरन्तर भइरहन्छ । तर व्यवस्थापकको सोचले नियम, प्रक्रिया र संस्थागत ढाँचामार्फत स्थायित्व कायम राख्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने, पटक–पटक सरकार परिवर्तन भए पनि सरकारी कार्यालयहरू, स्थानीय तह, विद्यालय, अस्पताल, अदालत—यी संस्थाहरू निरन्तर काम गरिरहेका हुन्छन् ।
यसको कारण व्यवस्थापक मानसिकता हो, जसले ‘प्रणालीले काम गर्नै पर्छ’ भन्ने धारणामा विश्वास राख्छ । यदि व्यवस्थापकको सोच कमजोर भयो भने, हरेक राजनीतिक परिवर्तनसँगै प्रणाली पनि ढल्छ, जसले देशलाई दीर्घकालीन रूपमा कमजोर बनाउँछ । त्यसैले, संस्थागत स्थायित्व कायम राख्ने जिम्मेवारी व्यवस्थापकको प्रमुख भूमिका हो ।
घ) दैनिक समस्या समाधान
राजनीतिक व्यवस्थापकको चौथो महत्वपूर्ण भूमिका भनेको दैनन्दिन समस्याहरूको समाधान गर्नु हो । जनताका तत्काल समस्या—जस्तै खाद्यान्न वितरण, भूकम्पपछि राहतको व्यवस्थापन, महामारी नियन्त्रण, बाढीपहिरो व्यवस्थापन—यी सबै व्यवस्थापकीय सोचमा आधारित हुन्छन् ।
उदाहरणका लागि, २०७२ सालको भूकम्पपछि सम्पूर्ण देशमा उद्वार, राहत र पुनर्निर्माणको ठूलो चुनौती खडा भएको थियो । नेताहरूले ‘पुनर्निर्माण गरेर देशलाई बलियो बनाउने’ भन्ने दृष्टि दिए, तर त्यो दृष्टि व्यवहारमा उतार्ने काम व्यवस्थापक तहले नै गरे ।
राहत सामग्री वितरण, अस्थायी बासस्थान निर्माण, विद्यालय पुनः सञ्चालन, स्वास्थ्य सेवाको पहुँच विस्तार—यी सबै दैनन्दिन चुनौतीहरूको समाधान व्यवस्थापक सोचले सम्भव बनायो ।
त्यस्तै, कोभिड–१९ महामारीका बेला ‘जनताको जीवन रक्षामा सरकार गम्भीर छ’ भन्ने नेताहरूको घोषणालाई व्यवहारमा उतार्ने काम व्यवस्थापकहरूले गरे—जस्तै क्वारेन्टाइन स्थापना, स्वास्थ्य सामग्री खरिद, खोप वितरण, अस्पतालको व्यवस्थापन। यी दैनन्दिन तर अत्यन्त महत्वपूर्ण काम व्यवस्थापकको दक्षता बिना सम्भव हुने कुरा थिएन ।
३. नेतृत्व र व्यवस्थापकबीचको अन्तर
राजनीतिक क्षेत्रमा नेतात्व र व्यवस्थापकबीचको अन्तर प्रायः स्पष्ट देखिन्छ, तर वास्तवमा यी दुई एकअर्काका पूरक पक्ष हुन्। हामी सामान्य रूपमा नेतालाई भविष्य र दृष्टिकोणको वाहक मान्छौं भने व्यवस्थापकलाई वर्तमान कार्यान्वयन र प्रणालीको संरक्षक ।
क) मुख्य केन्द्र
नेतृत्वको मुख्य केन्द्र भनेको भविष्य र दीर्घकालीन लक्ष्य हो । नेता समाजलाई भविष्यको बाटो देखाउँछ, नयाँ नीति र सुधारका विकल्पहरू प्रस्ताव गर्छ । उदाहरणका लागि, नेपालको गणतन्त्र स्थापनामा नेताहरूले पुरानो राजतन्त्रको संरचनालाई चुनौती दिँदै नयाँ संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्ने सपना देखाएका थिए ।
व्यवस्थापकको मुख्य केन्द्र भनेको वर्तमान र प्रक्रिया हो । उनीहरूले नीति र योजना व्यवहारमा कसरी लागू गर्ने भन्ने व्यवस्था गर्छन् । संघीय नेपालमा बजेट व्यवस्थापन, कर्मचारी खटाउने, स्थानीय तहको काम सञ्चालन गर्ने जस्ता जिम्मेवारी व्यवस्थापकको केन्द्रविन्दु हो ।
ख) कार्यशैली
नेता कार्यशैलीमा प्रेरणा र भावनात्मक सम्बन्धलाई प्राथमिकता दिन्छ । उनीहरूले जनतालाई आशावादी बनाउने, आन्दोलनमा जोड्ने, कठिन घडीमा एकजुट गर्ने कार्य गर्छन् । विपत्तिका बेला नेताले जनताको मनोबल बढाउँछन्, विश्वास जगाउँछन् । व्यवस्थापकको कार्यशैली भने नियम, प्रणाली र संरचनामा आधारित हुन्छ । उनीहरूले योजना अनुसार काम गर्ने, नियम पालना गराउने, दैनन्दिन कार्य संचालन गर्ने र परिणाम सुनिश्चित गर्ने जिम्मेवारी लिन्छन् ।
ग) उद्देश्य
नेताको उद्देश्य प्रायः परिवर्तन र नयाँ बाटो खोल्नेमा केन्द्रित हुन्छ । समाजलाई पुरानो संरचनाबाट बाहिर निकालेर नयाँ सोच र दृष्टिमा लैजान नेता प्रेरित गर्छ । व्यवस्थापकको उद्देश्य भने स्थायित्व र कार्यान्वयन हो । नियम र प्रक्रियालाई व्यवस्थित राखेर लगातार काम सुचारु गर्ने, अस्थिरता कम गर्ने र जनतालाई दीर्घकालीन सेवा उपलब्ध गराउने व्यवस्थापकको प्रमुख जिम्मेवारी हो ।
घ) संसार बुझ्ने तरिका
नेता संसार बुझ्ने तरिकामा प्रश्न गर्छ—“के गर्नुपर्छ? र किन गर्नुपर्छ?”उनी दृष्टिकोण र महत्वको आधारमा निर्णय गर्छन् । व्यवस्थापक संसार बुझ्ने तरिकामा विचार गर्छ—“कसरी गर्ने? र कहिले गर्ने ?” उनी योजनालाई व्यावहारिक र समयसापेक्ष बनाउने उपाय खोज्छन् ।