© २०२३
काठमान्डौ, २३ असोज ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालैका बाढी–डुबानबाट प्रभावित क्षेत्रमा वितरण गरिँदै आएका खाद्यान्न, पिउने पानी र लत्ताकपडाको गुणस्तर कायम राख्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयका अनुसार डुबानग्रस्त क्षेत्रका अधिकांश पानीका मुहानहरू दूषित भएकोले स्वच्छ पिउने पानीको अभावले निकट भविष्यमै हैजा, झाडापखाला र अन्य महामारी फैलिने उच्च जोखिम रहेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. प्रकाश बुढाथोकीले संकटको अवस्थामा वितरण गरिने सामग्रीको गुणस्तर घटे स्वास्थ्य संकट गहिरिन सक्ने चेतावनी दिएका छन् ।
डा. बुढाथोकीले विशेष गरी पिउने पानीबारे नागरिकस्तरमा सजगता आवश्यक रहेको उल्लेख गर्दै जुनसुकै स्रोत वा मुहानको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ भन्ने सन्देश सर्वसाधारणसम्म पुर्याउन आवश्यक रहेको बताए ।
उनका अनुसार दूषित पानीकै कारण हैजा, झाडापखाला, टाइफाइडजस्ता रोगहरू तीव्र गतिमा फैलिने सम्भावना रहन्छ । त्यसैले उनले राहत वितरणमा संलग्न सबै निकायलाई खाद्यान्न, पानी र लत्ताकपडाको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे ।
मन्त्रालयले सबै नागरिक र सरोकारवालालाई सावधानी अपनाउन, स्वच्छता मापदण्ड कडाइका साथ पालन गर्न र स्थानीय तहमा स्वास्थ्य जोखिम घटाउन आवश्यक तयारी तीव्र पार्न निर्देशन दिएको छ ।