© २०२३
काठमान्डौ, २१ असोज ।
आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा सञ्चालन गर्ने यस कार्यक्रमको पहिलो चरण सामान्यत: कात्तिक २ र ३ र वैशाख ६ र ७ गते सञ्चालन हुँदै आएको छ ।
तर यस वर्ष पहिलो चरणको दिन दिपावलीको लक्ष्मी पूजासँग पर्नुको कारण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, यस दुईदिने अभियानमा ७५३ पालिकामा पाँच वर्षमुनिका झन्डै २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र झन्डै ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
उनका अनुसार, यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ । महाशाखाको तथ्यांकअनुसार, अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल सेवन गर्ने बालबालिकाको दर झन्डै ९० प्रतिशत र जुकाको औषधि सेवन गर्ने दर झन्डै ८७ प्रतिशत रहेको थियो ।