© 2026
काठमाडौँ ।
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले आज (असोज २०) दिउँसो दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।
यस वर्ष मनसुन औसत मिति जुन १३ भन्दा १५ दिनअगाडि, अर्थात् मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो । तर, औसत मितिभन्दा केही ढिलो गरी बाहिरिन सुरु गरेको हो । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो ।
मनसुन एकैपटक देशभरबाट हट्दैन । यो पश्चिमी क्षेत्रबाट क्रमशः हट्दै जान्छ र अन्ततः पूर्वी कोसी प्रदेश हुँदै पूरै देशबाट बाहिरिन्छ । त्यसपछि मात्र मौसम विभागले आधिकारिक रूपमा मनसुन समाप्त भएको घोषणा गर्छ ।
हाल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पूर्वी भेगहरूका साथै मधेस र कोसी प्रदेशका अधिकांश क्षेत्रमा अझै पनि मनसुनको प्रभाव कायमै रहेको विभागले जनाएको छ ।
गत वर्ष भने मनसुन अक्टोबर १२ तारिखका दिन पूरै नेपालबाट बाहिरिएको थियो । मौसमविद्हरूका अनुसार, मनसुन बाहिरिएपछि मुलुकमा पश्चिमी वायुको प्रभाव सुरु हुन्छ । मनसुनी वायु पूर्वी वायु हो, जसले हरेक वर्ष नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेर देशभर विस्तार हुने गर्छ ।