Butwal Today

भैरहवामा बौलाहा कुकुरको आतङ्क, टोकेको व्यक्ति सम्पर्कमा आउन आग्रह

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

भैरहवा, १९ असोज ।

भैरहवाको देवकोटा चोक, बैंकरोड, मौर्या होटल आसपासका क्षेत्रमा विभिन्न व्यक्तिहरूलाई टोक्ने कुकुर रेबिज पोजेटिभ रहेको पुष्टि भएको । कुकुरले सो क्षेत्रमा धेरै जनाले टोकेको थियो ।

कुकुरले टोकेका सबै व्यक्ति अस्पतालको सम्पर्कमा आई रेबिज विरुद्धको भ्याक्सिन लिन अस्पतालले आग्रह गरेको छ ।  विगत दुई दिन यता भैरहवाको देवकोटा चोक, बैंकरोड, मौर्या होटल आसपासका क्षेत्रमा कुकुरले टोक्दै हिँडेपछि स्थानीयहरू त्रसित बनेका थिए ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. परवेज आलमले सो कुकुर रेबिज पोजेटिभ भएको पुष्टि गरेका छन् । “रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम हाम्रो टिम उक्त कुकुरलाई आइतबार नियन्त्रणमा लिएको थियो, कुकुर पहिले देखि नै मर्ने अवस्थामा थियो ।”

आलमले भने “नियन्त्रणमा लिई पशु सेवा विज्ञ केन्द्र भैरहवामा ल्याउँदै गर्दा नै उसको मृत्यु भएको थियो ।” आलमले अस्पतालको ल्याबमा चेक गर्दा कुकुर रेबिज पोजेटिभ रहेको पुष्टि भएको जानकारी दिए ।

कुकुरले टोकेका व्यक्ति तथा पशुहरू पनि रेबिजको उच्च जोखिममा रहेको हुँदा उनीहरूलाई रेबिज विरुद्धको भ्याक्सिन लिन डा. आलमले सुझाव दिएका छन् । पशुहरूको हकमा भने अर्को चेन सुरु हुने र त्यो परीक्षणको क्रममा देखिने हुँदा धेरै चिन्ताजनक अवस्था नरहेको उनले बताए ।

यता भैरहवा स्थित भीम अस्पतालले पनि कुकुर रेबिज पोजेटिभ देखिएको हुँदा टोकेका व्यक्तिहरूलाई अस्पतालको सम्पर्कमा आई भ्याक्सिन लिन आग्रह गरेको छ । भीम अस्पतालमा एण्टि रेबिज भ्याक्सिन स्टकमै रहेको अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेनले जानकारी दिए ।

उनले बढी जोखिममा रहेका बिरामीलाई “ईम्युनोग्लोबिन” नामको औषधी पनि दिनुपर्ने भएकोले एण्टि रेबिज भ्याक्सिन लगाएकाले पनि पुनः अस्पतालमा सम्पर्क गर्न आग्रह गरे ।

डा. हुसेनका अनुसार अहिले सम्म भीम अस्पतालको आकस्मिक कक्षबाट सो कुकुरले टोकेका ४ जनाले एण्टिरेविज भ्याक्सिन लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?