© 2026
काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा लगातार वर्षा गराउने न्यून चापीय प्रणाली देशबाट बाहिरिएको जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो २ बजे सूचना जारी गर्दै मनसुन कमजोर भइसकेको र मौसममा सुधार देखिएको जानकारी दिएकी हुन् ।
यद्यपि, मनसुन अझै नेपालबाट पूर्ण रूपमा बाहिरिएको छैन । त्यसैले केही स्थानमा अझै वर्षा हुने सम्भावना रहेको छ । तर असोज १८ र १९ गतेजस्तो लगातार र व्यापक वर्षा नहुने विभागले स्पष्ट पारेको छ । विभागले मौसम तथा बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन भइरहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले जारी गरेको विज्ञप्तिमा बंगालको खाडीमा विकास भएको न्यून चापीय प्रणालीका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन अत्यन्त सक्रिय भएको उल्लेख छ ।
सो अवधिमा मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा भारीदेखि अतिभारी वर्षा भएको थियो । कोसी प्रदेशका धेरै स्थानहरूमा पनि मध्यमदेखि अतिभारी वर्षा मापन गरिएको छ ।
वर्षा मापन केन्द्रहरूको तथ्याङ्कअनुसार रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा मापन भएको छ । विभागका अनुसार असोज १९ गते बिहान ८:४५ बजे उपलब्ध २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटा केन्द्रमा वर्षा मापन गरिएको छ ।
तीमध्ये १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको हो ।
३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर, कन्याम टी–स्टेट केन्द्रमा ३१४.२ मिलिमिटर, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, रौतहटको महेशपुर केन्द्रमा ३२८.० मिलिमिटर र गौर केन्द्रमा ३१५.० मिलिमिटर वर्षा मापन गरिएको छ ।
वर्षाका कारण असोज १८ गते अपराह्नदेखि बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूको जलसतह सतर्कता तह पार गरेको थियो । हाल ती नदीहरूमा जलसतह घट्दै गएको विभागले जनाएको छ ।
असोज १९ गते सप्तकोसी नदीले खतरा तह पार गरेको छ भने तमोर, सुनकोसी, अरुण लगायत सहायक नदीहरूमा पनि बहाव खतरा तहभन्दा माथि पुगेको थियो ।
हाल ती नदीहरूमा जलसतह घट्दो क्रममा छ । यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङजस्ता चुरे–महाभारत क्षेत्रका नदीहरूमा पनि खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेका छन् ।
कोसी नदी चतरा केन्द्रमा जलसतह खतरा तहको नजिक रहेकाले त्यस क्षेत्रका बासिन्दालाई असोज २० गते मध्याह्नसम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले हाल मनसुन बाहिरिन बाँकी रहेको अवस्थामा मौसम तथा बाढीको सम्भावित अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ । साथै विभागले वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री सेवा ११५५ तथा एसएमएसमार्फत प्रदान गरिने अद्यावधिक पूर्वसूचनाहरूको आधारमा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
