© २०२३
काठमान्डौ, १४ असोज ।
पछिल्ला १७ वर्षमा समावेशी प्रणालीमार्फत २५ हजार २१८ जनाले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन् । यो तथ्याङ्क लोक सेवा आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० /८१ को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
वि.सं. २०६४ सालदेखि प्रचलित कानुनअनुसार आयोगले समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको हो । प्रतिवेदनअनुसार सो अवधिभर विभिन्न छ वटा समावेशी समूहमार्फत विज्ञापन प्रकाशित गरी नियुक्ति प्रक्रिया सञ्चालन भएको हो ।
केवल आर्थिक वर्ष २०८०/८१ मा मात्र समावेशी विज्ञापनमार्फत १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । तीमध्ये महिलातर्फ ३४१, आदिवासी–जनजातितर्फ २८२, मधेशी समुदायतर्फ २४८, दलिततर्फ १०४, अपाङ्गता भएका व्यक्तितर्फ ४९ र पछाडिएको क्षेत्रतर्फ ४२ उम्मेदवार परेका छन् ।
यसबाहेक समावेशी समूहका उम्मेदवार खुला विज्ञापनमार्फत हुने प्रतिस्पर्धामा समेत सफल भएका छन् ।
समग्रमा, २०६४ सालदेखि २०८०/८१ सम्मको अवधिमा सबै समावेशी समूहबाट गरी २५ हजार २१८ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
