Butwal Today

दशैँको टीकाको भोलिपल्टदेखि मुसलधारे वर्षाको सम्भावना

१४ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १४ असोज ।

यस वर्षको दशैँको टीकाको भोलिपल्टदेखि देशका विभिन्न भागमा मुसलधारे वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार हाल तीनवटा मौसमी प्रणाली विकसित भइरहेका छन् । ती प्रणालीको प्रभाव भोलिदेखि हल्का र मध्यम वर्षा हुँदै विजयादशमीको साँझदेखि विशेषगरी पूर्वी नेपालमा मुसलधारे वर्षा गराउने देखिएको छ । यो प्रभाव तीनदेखि चार दिनसम्म रहने अनुमान छ ।

यस्तै जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पनि दशैँको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा हुने सम्भावनाबारे जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले असोज १८ गतेअघि देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने र १८ गतेपछि पूर्वी नेपाल हुँदै अन्य प्रदेशहरूमा वर्षा अझ तीव्र हुने उल्लेख गरेका छन् ।

भारतको मौसम विभागले पनि असोज १७ देखि १९ गतेसम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरिसकेको छ । नेपालमा भने असोज १७ गते रातिदेखि कोशी प्रदेशमार्फत प्रणाली प्रवेश गरी असोज १९ र २० गतेसम्म लुम्बिनी र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने प्रक्षेपण गरिएको उप्रेतीले बताए ।

दशैँमा घर फर्किएकाहरू पुनः कार्यस्थलतर्फ जाने समय भएकाले यात्रा अघि मौसम र सडकस्थितिबारे जानकारी लिन मौसमविद्हरूले सुझाव दिएका छन् । त्यस्तै धानसहितका बाली भित्र्याउने समय भएकाले असोज १७ गतेदेखि चार–पाँच दिनसम्म बाली नकटाउन पनि उनीहरूको सिफारिस छ ।