Butwal Today

नारायणगढ–मुग्लिङ सडकखण्डमा पुनः पहिरो, आवागमन पूर्णरूपमा ठप्प

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

चितवन, १३ असोज ।

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा सोमबार पुनः पहिरो खस्दा आवागमन पूर्णरूपमा ठप्प भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गत बिहीबारदेखि अवरोधमुक्त रूपमा सञ्चालन हुँदै आएको यो खण्डमा आज बिहान अचानक पहिरो खसेपछि सवारीसाधन आवतजावत रोकिएको हो । कार्यालयले पहिरो खस्ने क्रम जारी रहेकाले पूर्ण रूपमा रोकिएपछि मात्र तैनाथ उपकरणमार्फत पन्छाउने काम सुरु गरिने जनाएको छ ।

यसैबीच, सडक अवरुद्ध भएपछि बाटोमै अलपत्र परेका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधानीपूर्वक पंक्तिबद्ध रहन अनुरोध गरिएको छ ।

यसअघि पनि आज बिहानै करिब ७ बजे पुल नजिकै पहिरो खसेको थियो । तर, आधा घण्टाभित्रै पन्छाइएपछि यातायात सुचारु भएको थियो । गत मंगलबार त्यही स्थानमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको र बिहीबार मात्र पन्छाएर दुईतर्फी आवागमन सञ्चालनमा ल्याइएपछि आज पुनः सोही स्थानमा पहिरो खस्दा दशैं मनाउन घरतर्फ यात्रा गर्ने सर्वसाधारण अलपत्र परेका छन् ।