© 2026
काठमाडौं, ९ असोज ।
निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ । आज बसेको आयोगको बैठकले सो निर्णय गरेको निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
“हो, कात्तिक मसान्तसम्म मतदाता अद्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ,” उनले भने । उनका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने छ ।
यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।
उक्त सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ । निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन रोकिने व्यवस्था थियो । तर सरकारले बुधबार अध्यादेशमार्फत उक्त प्रावधान संशोधन गरेको छ ।