© 2026
काठमान्डौ, ९ असोज ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा परेको पहिरो हटाउन शुक्रबार बिहानसम्म समय लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले बुधबार साँझ परेको वर्षाका कारण आज पहिरो हटाउन सक्ने सम्भावना कम भएको जनाएको छ ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार, हिजो साँझ पानी नपरेको भए आजै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सकिन्थ्यो । फेरि पानी नपरे भोलि बिहान करिब ११ बजेतिर सञ्चालनमा ल्याउन सकिन्छ भन्ने अनुमान छ ।’
हाल पहिरो पन्छाउन ६ वटा उपकरण परिचालन गरिएको छ । पहिरो दुई साइडबाट हटाउने कार्य भइरहेको भए पनि एक साइडमा दुईवटा मात्र उपकरण प्रयोग गर्न सकिने भएकाले ढिला भइरहेको उनले बताए ।
मंगलबार दिउँसो ४:५५ बजे मुग्लिनको तुइनखोला नजिकै ठूलो पहिरो खस्दा १६० मिटर सडक ढाकिएको थियो । उक्त पहिरोमा जमेको ढुंगा–माटोको मात्रा करिब ३४ हजार ट्रक बराबर रहेको सडक विभागले अनुमान गरेको छ । बुधबार बिहानैदेखि पहिरो हटाउने कार्य सुरु गरिएको छ ।