© २०२३
काठमान्डौ, ९ असोज ।
२४ भदौको जेनजी आन्दोलनका क्रममा कारागार तोडफोडपछि फरार भएका ६ हजार ८१३ कैदी अझै पनि समाजमा खुलेआम हिँडिरहेका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार बुधबार दिउँसो १२ बजेसम्म कारागार र सुधारगृहबाट भागेका १४ हजार ५४९ मध्ये ७ हजार ७३५ मात्र फिर्ता भएका छन् । बाँकी फरार कैदी विदेश भाग्न सक्ने जोखिम बढेपछि विभागले विवरण अद्यावधिक गरी अध्यागमनलाई पठाइरहेको छ ।
फरार कैदीले पुनः अपराध गर्ने घटना समेत देखिएको छ । नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नी पत्नीको हत्या गरेका छन् भने कञ्चनपुरका दीपक सुनारले बलात्कार प्रयास गरेको पाइएको छ ।
सुरक्षा निकायले चाडपर्वको समयमा चोरी–डकैती लगायत अपराध बढ्न सक्ने चेतावनी दिएको छ । प्रहरी कार्यालयहरू जलेर नष्ट भएको र हातहतियार अभाव रहेको अवस्थामा ठूलो संख्यामा कैदी फरार हुनु थप चुनौती बनेको छ ।