Butwal Today

अविरल वर्षाले तिनाउ नदीको जलसतह बढ्यो, तटीय बस्ती जोखिममा

१ आश्विन २०८२, बुधबार
अ+
अ-

बुटवल, १ असोज ।

पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण बुटवल हुँदै बग्ने तिनाउ नदीको जलसतह उच्च स्तरमा पुगेको छ। तिनाउको मुहान रहेको पाल्पामा मंगलबार रातिदेखि लगातार वर्षा भइरहेकाले बुधबार बिहानैदेखि नदीमा बाढी आएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबारको जलसतह यस वर्षकै सबैभन्दा उच्च मापन गरिएको छ। पाल्पा र सिद्धबाबा क्षेत्रमा लगातार ठूलो पानी परेपछि नदीमा एक्कासी पानीको बहाव बढ्ने गरेको र यसले बुटवल आसपासका नदी किनारका बस्तीलाई जोखिममा पारेको प्रहरीको भनाइ छ।

 प्रहरीले तिनाउ तटीय क्षेत्रका पुरानो बसपार्क, सुन्दरनगर, मजुवा, बिनापाते, हात्तिसुढ, माझगाउँ लगायतका बस्तीमा सयौं परिवार उच्च जोखिममा रहेको जानकारी दिएको छ। वर्षा अझै दिनभरि निरन्तर भइरहने सम्भावना रहेकाले तटीय बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

हालसम्म भने बुटवल र आसपासका क्षेत्रमा बाढीबाट कुनै भौतिक वा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।