© २०२३
एक युवकले आत्महत्या गर्नुअगाडि आफूलाई जेनजी भनेर नाङ्गो पारेर कुटपिट गरिएको उल्लेख गर्दै सार्वजनिक रूपमा चार व्यक्तिको नाम लिएपछि प्रहरीले ती चारजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार पक्राउ पर्नेहरूमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन् । उनीहरूलाई आत्महत्या दुरुत्साहनको लागि मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।
शनिबार वेदकोट नगरपालिका–४ बैतडाका २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राणत्याग गरेको घटनापछि घटनास्थल र परिवारको उजुरीका आधारमा प्रहरीले छानबिन थालेको थियो । आत्महत्या गर्नुअघि नरेशले आफूलाई जेनजी भन्दै नाङ्गो बनाएर कुटपिट गरिएको र केही व्यक्तिका कारण आफू मार्न बाध्य भएको दाबी गरेका थिए । उनले लाइभमा केही व्यक्तिको नामसमेत लिएका थिए ।
मृतककी दिदी हिरा धानुक रावलले पनि राति करिब साढे १० बजे नरेशलाई मद्यपान गराएर नाङ्गो बनाएर कुटपिट गरिएको र त्यसपछि आत्महत्या गर्न बाध्य पारिएको बताइन् । पीडित परिवारले सोही आधारमा चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको र घटनाका सबै आयाम उजागर गर्न छानबिन जारी रहेको जानकारी दिएको छ ।