Butwal Today

न्यायको आशा बोकेर पुनः कारागार फर्किँदै रवि लामिछाने

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं, २८ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै अब आफूलाई अन्याय नहुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार आफ्नो जन्मदिनकै दिन लामो स्टाटससहित भिडियो सन्देश सार्वजनिक गर्दै उनले जन्मदिनको उपहारस्वरूप फेरि कारागार फर्किन लागेको घोषणा गरेका हुन् ।

‘पछिल्लो सरकारले राजनीतिक प्रतिशोधका कारण मेरो जीवन दुस्तर बनाएको थियो । तर आज न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब अन्याय हुँदैन भन्ने आशासहित म कारागार फर्किन लागेकाे छु,’ लामिछानेले भनेका छन् ।

नख्खु कारागारमा रहेका लामिछाने २४ भदौमा जेनजीहरूको प्रदर्शनका क्रममा बाहिर निस्किएका थिए । उनले आफू कारागार प्रशासनकै निर्णयअनुसार बाहिर निस्किएको दाबी गरे पनि, प्रशासनले औपचारिक रुपमा पत्र सार्वजनिक नगरेपछि प्रश्न उठेका थिए ।

उक्त विषयमा आलोचना बढेपछि सभापति लामिछाने आफैं कारागार फर्किन लागेका हुन् । उनले यसबारे सञ्चारमाध्यममा भएको ‘मिडियाबाजी’प्रति आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?