© २०२३
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन-जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका सभापति रवि लामिछानेले पाएको पत्र नक्कली नभएको स्पष्ट पारेका छन् ।
अर्यालले आफू लामिछाने जेलबाट बाहिरिँदा साक्षी रहेको र सो पत्र बुझ्ने पनि आफैं भएको दाबी गरेका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “पत्र मेरो अगाडि हस्ताक्षर भएको हो । पत्र फेक होइन । हतारमा केही बेहोरामा त्रुटि भएको हुन सक्छ । मितिमा हामीले कुनै परिवर्तन गरेका होइनौं । सच्याइएको मितिमै हस्ताक्षर र छाप लगाइएको हो ।”
उनका अनुसार यस्ता पत्रहरू कम्प्युटरमै तयार पारिने भएकाले अघिल्ला विवरणहरू डिलिट नभएको हुनसक्छ । गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूसँग समन्वय गर्ने जिम्मेवारी आफूले वहन गर्ने भएकाले सो पत्रबारे सभापति लामिछानेलाई कुनै जानकारी नभएको उनले स्पष्ट पारे ।
अर्यालले थपे, “गृह मन्त्रालय र सुरक्षा निकायसँग समन्वय गर्ने म हुँ । यसमा सभापतिज्यूलाई केही जानकारी छैन । दुनियाँले देखेको छ, उहाँ भाग्नुभएको होइन । यदि समयमा ननिकालिएको भए ठूलो क्षति हुने सम्भावना कारागार आफैंले स्वीकारेको छ ।”
उनले नक्खु कारागारको अवस्था असुरक्षित रहेको भन्दै पार्टी नेतृत्व निरन्तर सुरक्षा निकायसँग समन्वयमा रहेको बताएका छन् ।