© २०२३
काठमाडौं ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधानअनुसार नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लोकतान्त्रिक हक प्रयोग गर्दा कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जवाबदेहितालाई नबिर्सन आग्रह गरे ।
बर्तौलाले भने, “लोकतान्त्रिक व्यवस्थामा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु, असहमति जनाउनु, खबरदारी गर्नु वा नयाँ सरकारको माग गर्नु नागरिकको अधिकार हो । तर अधिकारसँगै कर्तव्य र राष्ट्रप्रतिको जवाबदेहिता पनि सधैं ख्याल राख्नुपर्छ।”
उनका अनुसार सत्ता वा सरकारलाई कुनै अलौकिक कुरा मान्नु हुँदैन । “निरङ्कुशता र अधिनायकवादविरुद्ध लडेका दल र नेताका लागि सत्ताभन्दा ठूलो कुरा देशको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा हो,” उनले भने ।
बर्तौलाले संसदमार्फत बनेको अहिलेको सरकारले जेनजी पुस्ताको आन्दोलनलाई सम्मान गर्दै मार्ग प्रशस्त गरिसकेको उल्लेख गरे । उनले संवैधानिक प्रावधानअनुसार अब संसद्ले छिट्टै नयाँ सरकार गठन गर्नुपर्ने र त्यसका लागि राष्ट्रपति सक्रिय हुनुपर्ने बताए ।
त्यस्तै उनले मुलुकमा उत्पन्न हुने राजनीतिक घटनाहरूको समाधान संवैधानिक प्रावधानअनुसारको लोकतान्त्रिक बाटाबाट मात्रै खोज्न सकिने स्पष्ट पारे । “क्षणिक आवेग वा अल्पकालीन सोचबाट होइन, संविधान र अहिलेको व्यवस्थामार्फत मात्र हामीले देशको भविष्य निर्माण गर्न सक्छौं,” बर्तौलाले भने ।
राष्ट्रविरुद्ध षड्यन्त्र हुन सक्ने भन्दै उनले सबैलाई सचेत रहन र मुलुकको दीर्घ भविष्यबारे सोच्न आह्वान गरे ।