© २०२३
अर्घाखाँची, २३ भदौ ।
समुन्द्री सतहदेखि २ हजार मिटर भन्दा बढी उचाइमा रहेको सेङलेङ लेकलाई चिया बगान र पर्यटन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार काम अगाडि बढाइएको छ । भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित सेङलेङ लेकमा २० रोपनी क्षेत्रफलमा चिया खेती गरिएको छ ।
देउराली लालीगुराँस सामुदायिक वनमा २१ हजारभन्दा बढी चियाका बोट छन् । वनमाराले भरिएको जङ्गलमा गत वर्ष चियाका बिरुवा लगाइएको हो । लगाएका चियाका बिरुवाको संरक्षणमा नगरपालिकाको युवा सञ्जालको अगुवाइमा संरक्षण पनि गरिएको छ ।
नगरपालिकाले चिया बगान सँगै उक्त क्षेत्रलाई पर्यटन हवको रूपमा विकास गर्नेगरि काम समेत थालेको छ । प्राकृतिक रूपमा मनमोहक वातावरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान धनचौरका स्थानीय गोपाल भट्टराईले बताए । जिल्लाकै अग्लो र चिसो मौसम भएकोले चिया खेती सम्भावना रहेकाले चिया खेती गरिएको हो ।
परीक्षणका लागि गरिएको चिया खेतीलाई सफल पार्न मलजल र गोडमेल कार्यक्रम हरेक वर्ष गर्ने गरेको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले बताए । ‘यो वनमा चियाका बोट हर्लक्क बढेका छन्,’ उनले भने, ‘यसरी बिरुवा राम्रोसँग हुर्कँदै गएपछि यो ठाउँमा खेती राम्रो हुन्छ भन्ने अनुमान छ । इलामजस्तै चिया उत्पादन भएमा वनबाटै स्थानीयले रोजगारी पाउने, आत्मनिर्भर बन्ने आशा छ ।’
“वनमारा हटाएर चिया खेती लगाएका छौँ, यसलाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरि बगान बनाउने सोचमा रहेका छौँ ।’’ देउराली–लालीगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले भने ‘भूमिकास्थानको सेङलेङ गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमुना गाउँ हो ।’
जहाँबाट मनोरम हिमशृङखला, अग्ला पहाड देखि बेसी सम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ । सेङलेङ लेक पर्यटकीय स्थल पनि हो । जहाँबाट धेरै पहाडीसहित तराईको भूभाग अवलोकन गर्न सकिन्छ ।
चिसो मौसम भएकाले सुपा देउराली मन्दिरमा दर्शन गर्न आएका धार्मिक पर्यटकलाई अग्लो र चिसो ठाउँ सेङलेङ लेकमा घुमाउन ल्याउने गरी काम भएको भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बताए । त्यसका लागि सेङलेङ–सुपा देउराली सडक निर्माणलाई थप व्यवस्थित गरिँदै छ । यहाँ होमस्टे पनि निर्माण गरिएको छ ।
बिस्तारै चिया बगान हेर्न पर्यटक आउने र सडक व्यवस्थित भएपछि सुपा देउराली मन्दिरमा आएका तीर्थालुलाई सेङलेङमा ल्याएर स्थानीयलाई पर्यटनबाट स्वरोजगार बनाउने लक्ष्यअनुसार काम भइरहेको थापाले बताए ।
‘भविष्यमा चिया खेती र पर्यटनबाटै गाउँलेलाई आत्मनिर्भर बनाउने लक्ष्य छ,’ उनले भने, ‘सेङलेङ लेक, धनचौर क्षेत्र राम्रो पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन पूर्वाधार, सडक निर्माण, चिया खेती विस्तार सहितका काम गरेका छौँ ।’ सेङलेङ लेक नजिकैको मृगीस्थल झरनामा पनि पूर्वाधार निर्माण गरिँदै छ ।
यहाँ चैतेदशैंमा सराँय नाच सहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथीभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थली झरना, सिद्धगुफा पर्यटकीय आकर्षणको रूपमा रहँदै आएका छन् भने अब बन्ने चिया बगान पनि पर्यटकीय रोजाइमा पर्ने आङ्कलन गरिएको छ ।
पछिल्लो समय बढ्दै गएको गर्मी र मानवीय उकुसमुकुसमा प्राकृतिक मनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ ।