Butwal Today

देशभर मनसुनको प्रभाव, कोशी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

२२ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २२ भदौ ।

 हाल सक्रिय मनसुन प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा बदली मौसम र वर्षा देखिएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानमा तथा पश्चिमी नेपालमा सामान्यभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिक्किम आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभावले नेपालको पूर्वी भूभागमा समेत असर पुर्‍याइरहेको छ । यसको प्रभावस्वरूप कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्यतया बदली र अन्य स्थानहरूमा आंशिक बदलीको अवस्था रहेको छ । ती प्रदेशका पहाडी भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागहरूमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका केही स्थानहरूमा तथा अन्य स्थानहरूका एक–दुई भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति पनि कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्यतया बदली रहनेछ। बाँकी भागहरूमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य पहाड तथा तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा सम्भावित भारी वर्षालाई ध्यानमा राखी जल तथा मौसम विज्ञान विभागले स्थानीय बासिन्दा तथा सरोकारवालाहरुलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।