© २०२३
समाचार सारांश
नेपालमा मलको अभाव भएपछि किसानहरू बाध्यतावश भारतबाट मल ल्याउँछन् ।
भारतमा २८० रुपैयाँ पर्ने युरिया मल नेपालमा तस्करहरूले २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।
सीमाबाट मल ल्याउँदा किसानहरूले भारतीय र नेपाली सुरक्षाकर्मीको गाली, कुटपिट र लातजुत्ता सहनुपरेको छ ।
भैरहवा, ०५ भदौ ।
धानका लागि उर्वर मानिएको रुपन्देहीको मर्चावार क्षेत्रमा मलको चरम अभाव अभाव भएको छ । पानीका कारण जेनतेन ढिलै रोपाइँ गरेका यहाँका किसान मलको अभाव खेपिरहेका छन् । एक बोरा मल पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने र अनेक हन्डर खप्नुपर्ने अवस्था किसानको छ ।
सरकारी अनुदानको मल न्यून मात्रामा पाएर पनि यसले अपुग भएका किसानहरू अझै भारतीय कमसल र कम तौल भएको मलको भर पर्नु परेको छ । त्यही पनि चर्को मूल्य र भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूको गाली खप्की र लात जुत्ता खादै । मल वितरण हुने कतिपय सहकारीहरूमा भीड नियन्त्रण भन्दा बाहिर हुने गरेको छ ।
मल लिन आएका किसानहरूबिच ठेलाठेल र धक्कामुक्की हुँदा कयौँले चोटपटक पनि खानुपर्छ । “एक बोरा मल पाउनका लागि लात जुत्ता समेत खानुप¥यो,“ स्थानीय किसान वासु मल्लाहले पीडा पोख्दै भने, “सरकारले हामीलाई किसान भन्छ तर हाम्रो समस्यामा कसैको ध्यान छैन ।”
नेपालमा मल नपाएपछि किसानहरू भारतीय मलको भर पर्नुपर्छ । तर भारतीय मलमा पनि तस्करहरूको सिन्डिकेट छ । भारतमा २८० रुपैयाँ भारु पर्ने मल तस्करहरूले बढी मूल्य दिई खरिद गरेको कारण अहिले भारतमा सीमावर्ती क्षेत्रमा समेत युरिया मलको हाहाकार मच्चिएको छ ।
यस्तो अवस्थामा सामान्य किसानहरूले एक बोरा मलको लागि भौँतारिनु परेको छ । मल पाइए पनि भारतीय सुरक्षाकर्मीको लाठी र बुट खानु परेको छ । भारु २८० रुपैयाँ पर्ने मल तस्करहरूले भने सीमा कटाएर नेपाल तर्फ २ हजार ५ सय देखि ३ हजार रुपैयाँ प्रतिबोरा सम्म बिक्री गर्ने गरेका छन् ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का निजामुद्दिन मुसमलमानले धान बालीको लागि आफूलाई ४० बोरा सम्म युरिया मल आवश्यक रहेको बताउँछन् । “मलाई एउटै सिजनमा ४० बोरा युरिया मल आवश्यक पर्छ, तर सहकारीले एक बोरा मात्र दिन्छ, एक बोरा मल मात्र लिएर म के गर्छु ?” उनले भने “म जतिको मानिसले भारतबाट गएर लात जुत्ता खाएर मल ल्याउन पनि सक्दैन ।
यसैले यस पटक मल नै नहाल्ने मनस्थितिका साथ बसेको छु ।”यसरी मल नहाल्दा भने उत्पादनमा प्रत्यक्ष असर पर्ने उनलाई र सरकारलाई पनि थाहा छ । तर प्रत्येक वर्ष एउटै समस्या दोहोरिए पनि सरकारले खासै चासो नदेखाएको उनको गुनासो छ । समयमा मल हाल्न नपाएकाले कतिपयको धान बाली पहेँलो भएर सुक्न थालेको छ ।
“मल नपाएकाले बाली सुक्दै गएको छ, सबै लगानी डुब्ने भयो,“ अर्का किसान रमाशंकर यादवले निराश हुँदै भने, “यस वर्ष पनि राम्रो उत्पादन हुने आस छैन ।”कृषिप्रधान देश भनिने नेपालमा हरेक वर्ष किसानहरूले मलको समस्या झेल्दै आएका छन् ।
मर्चावारका किसानहरूले स्थानीय तह र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोक कुमार तिवारीले सहकारीको कमान्ड क्षेत्र वडा नम्बर ५ मा ११ टोलमा गरी करिब १ हजार ६ सय घरधुरी रहेको बताए । यतिका किसानलाई कम्तीमा पनि ८ हजार देखि ९ हजार बोरा मल आवश्यक रहेको बताउँछन् ।
तर लोकतन्त्र आएदेखि नै हालसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग गरी जम्मा १ हजार बोरा भन्दा बढी आपूर्ति भएको छैन । “अहिले पनि ३४० बोरा युरिया मल प्राप्त भएको छ, तर किसानहरू बिहानै देखि लाइनमा उभिनुभएको छ ।” उनले भने “आवश्यकता र आपूर्ति बिच ठुलो खाडल छ, यस्तो अवस्थामा हामीले जेनतेन केही नियम बनाएर मल वितरण गरिरहेका छौँ ।”
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार जिल्लाकै सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रमा पर्दछ । मायादेवी गाउँपालिकाको केही भाग, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरू समेटिएको क्षेत्र मर्चवारको नामले प्रख्यात छ ।
मुख्य पेसा कृषि नै रहेको यहाँका स्थानीयहरू समयमै आफूलाई आवश्यक पर्ने मल नपाउँदा सरकारप्रति रुष्ट देखिएका छन् । उनीहरूले यस विषयमा सङ्घीय सरकार र कृषि मन्त्रालयले तत्काल ध्यान दिनुपर्ने र मलको सहज आपूर्तिका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।