© 2026
अर्घाखाँची, १ भदौ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित व्यवसायीहरूको साझा सङ्गठन पाणिनी चेम्बर अफ कमर्स को तदर्थ समितिको संयोजकमा अर्जुन पोखरेल सर्वसम्मत रूपमा चयन भएका छन्।
शनिबार पाणिनि गाउँपालिका स्तरीय व्यवसायीहरूको भेलाले पोखरेललाई नेतृत्वका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।
चेम्बरको हिरक महोत्सवको अवसरमा, अर्घाखाँची चेम्बरको मातहतमा रहने गरी पाणिनी चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको हो। सो समितिले विभिन्न पदाधिकारीहरू तथा सदस्यहरूको जिम्मेवारी समेत तोकेको छ।
पोखरेलको संयोजकत्वमा गठित २१ सदस्यीय समितिमा, सहसंयोजकमा संसोद्दिन मियाँ चयन भएका छन्।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य सुकदेव बेल्बासे, अर्घाखाँची चेम्बर अध्यक्ष अशोक कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लिलाधर बस्याल, सचिव प्रेम थापा, पाणिनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष युवराज ज्ञवाली, वडा नं. ४ का अध्यक्ष हरिप्रसाद घिमिरे, वडा नं. ७ का अध्यक्ष गुनाखर अधिकारी लगायत स्थानीय व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संयोजकमा चयन भएपछि पोखरेलले व्यवसायीहरूको साझा मञ्चका रूपमा चेम्बरलाई थप सबल, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “पाणिनी क्षेत्रमा रहेका उद्योग, व्यवसाय, कृषि तथा सेवा क्षेत्रको प्रवर्द्धन, संरक्षण र समस्या समाधानमा अब चेम्बरले ठोस पहल गर्नेछ।
व्यवसायमैत्री वातावरण निर्माण, लगानी आकर्षण र उद्यमशीलता प्रवर्द्धन हाम्रो प्राथमिकता हुनेछ बैठकमा उपस्थित सदस्यहरूले पाणिनी क्षेत्रमा पर्यटन, कृषि उत्पादन, सहकारी तथा सेवा क्षेत्रलाई चेम्बरमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
साथै, गाउँपालिकासँग सहकार्य गर्दै नीतिगत समस्याको समाधान, व्यवसायीहरूलाई राहत तथा सुविधा दिलाउने विषयमा चेम्बरले अग्रसर भूमिका खेल्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।
समितिले आगामी तीन महिनाभित्र पाणिनीभित्रका सम्पूर्ण व्यवसायीहरूलाई समेटेर अधिवेशनमार्फत कार्यसमिति चयन गर्ने निर्णयसमेत गरेको छ।