© 2026
अर्घाखाँची, ०१ भदौ ।
अर्घाखाँचीको मालारानी र पाणिनी गाउँपालिकामा सुन्तलाका दाना झर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । २२ रोपनी क्षेत्रफलमा ६३३ सुन्तलाका बिरुवाहरू लगाएका पाणिनीको सिम्लेका रेवती पौडेल भन्छन् ‘सुन्तलाको बोटमा पतेरोको आक्रमण बढेको छ, सुन्तलाको लागि यो वर्ष अनुकूल मौसम भएन, उत्पादन घट्ने चिन्ता बढेको छ ।’
गत वर्षभन्दा सुन्तला बढी झरेको छ, बर्खाको समयमा पनि पानी कम परेका कारण र गर्मी बढी भएका कारण फलेर दाना हुर्किने बेलामा मौसम ठिक भएन पौडेलले भने ‘सुष्मतत्वहरूको प्रयोगले सुन्तलाको भेट्नो बलियो गराएर नझर्ने गराउन त सकिन्छ, तर बगैँचा भरी सुन्तला छ, विषादी प्रयोग सबै कृषकले गर्ने सम्भावना न्यून छ ।’ सिम्ले गाउँमा गाउँभरि सुन्तला छ ।
‘सिम्लेका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र यसबाट आम्दानी पनि राम्रो हुन्छ, तर प्रकृतिसँग केही गर्न नसकिने रहेछ । व्यावसायिक सुन्तला कृषक पोखरा थोकका भाष्कर पौडेलको घरमा सुन्तलाका ३१५ बिरुवा छन्,’ उनी भन्छन्–‘गत वर्ष भन्दा उत्पादन घट्ने भयो, यस वर्ष हिउँदमा पानी पनि कम प¥यो, फूल नै कम फूलेको हो, त्यसैमाथि अहिले झरेको छ ।
मालारानीमा व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका कृषकहरू लटरम्म फलेका सुन्तला झर्न थालेपछि मालारानी गाउँपालिका–२ डाँडाकटेरीका कृषकहरू पनि चिन्तित भएका हुन् ।
सुन्तला कृषक निमानन्द भुसालले भने,‘बगैँचामा झन्डै साढे चार सय सुन्तलाका बोट छन् । ३ सयभन्दा बढी सुन्तलाको रुखमा लटरम्म दाना लागेका थिए । तर अहिले दाना झरेर सकिन थालेका छन् ।’ गत वर्ष सुन्तलाको बिक्रीबाट ३ लाख आम्दानी भएको कृषक भुसालले बताए ।
यस वर्ष झन्डै ५ लाखको सुन्तला बेच्ने लक्ष्य रहेको भन्दै उनले सुन्तला झरेर सकिन थालेपछि लक्ष्य पुरा नहुने उनले बताए । बोटमा लागेका दाना झर्नुका साथै सुन्तलामा ढुसी देखा परेको डाडाकटेरीका कृषक रबिलाल भुसाललले बताए । डाडाकटेरीमा मात्रै झन्डै ४० जना कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।
सुन्तला झर्न थालेपछि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले स्थलगत अवलोकन गरेको छ । कृषि ज्ञान केन्द्रका प्राविधिक सारदा आचार्यले झरेका सुन्तलाको ल्याब परीक्षणका लागि नमुना लिइएको बताइन् ।
आचार्यले भनिन्,‘लामो समय खडेरी परेको र त्यसपछि वर्षा भएका कारण सुन्तलाको बगैँचा व्यवस्थापनको समस्याले सुन्तला झरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । परीक्षणका लागि झरेका सुन्तला ल्याबमा पठाएका छौँ । ल्याबको रिपोर्ट अनुसार वास्तविक समस्याको पहिचान हुने छ ।’
जिल्लाको पाणिनि गाउँपालिका वडा नं. १ सिम्लेमा मात्रै रु. पाँच करोडको सुन्तला उत्पादन हुन्छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरूले सबैले सुन्तला बेचेर कम्तीमा रु. ३ लाखदेखि बढीमा ३० लाखसम्म आम्दानी हरेक वर्ष गर्छन् ।
विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला बगैँचाबाट नै प्रतिकिलो रु ६० देखि ७५ सम्ममा किन्ने गरेका छन् । यहाँको सुन्तला बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री हुन्छ । अर्घाखाँचीको मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आइएको छ । जिल्लामा झन्डै एक हजार हेक्टरमा सुन्तला खेती हुँदै आएको छ ।
कृषि अधिकृत, पाणिनी गाउँपालिकाका कृषि अधिकृत मेघराज पौडेलले मौसममा उतारचढाव, कम वर्षा र रोगजनक तत्त्वहरूको प्रभावले यो वर्ष सुन्तला झरेको बताए । सुन्तला बगैँचामा नियमित रूपमा सफा राख्न र बिग्रिएका दानाहरू टिपेर फाल्न उनले सुझाव दिए ।
रोग प्रतिकारक क्षमता वृद्धिको लागि हर्मोनल स्प्रे (जस्तै, एथिलिन), बोटानीकल पेस्टिसाइड्स, र विभिन्न बोटहरूको उपचार समय समयमा गर्नुपर्छ । बोटलाई सन्तुलित र उचित मात्रामा मल दिनुपर्ने उनको भनाई छ ।