© २०२३
बुटवल, १९ मंसिर ।
सुपरस्टार किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनसँगै डिफेन्डिङ च्याम्पियन फ्रान्स अल थुमामा रंगशालामा आइतबार पोल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ ।
फ्रान्सलाई २० मिनेटसम्म बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डले चुनौती दिनेजस्तो देखिएको थियो । सन् १९८६ यता पहिलोपल्ट नकआउटमा खेलेको पोलिस टिमले सुरुआती लयलाई निरन्तरता दिन सकेन । प्लेमेकर एन्टोइन ग्रिजमन र २३ वर्षीय फरवार्ड एम्बाप्पेको लयमा खेल चल्न थाल्यो । त्यसैले फ्रान्सले पोल्यान्डविरुद्ध स्पेन (१९८२) मा भएको विश्वकपमा तेस्रो स्थानको प्रतिस्पर्धामा बेहोरेको ३–२ को हारको बदला कतारमा आएर लियो ।
पोल्यान्डले ३८ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, पियोतर जेलेन्स्कीले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल फ्रान्सेली कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले रोकिदिए । त्यसैमा पाएको बलमा जेलेन्स्कीले फेरि प्रहार गरेका थिए, जसमा डिफेन्डर थियो हर्नान्डेज बाधक बने । फेरि त्यसमा ज्याकुब कामिन्स्कीले अवसर पाए । उनको प्रहारलाई रोक्दै लोरिसले फ्रान्सको संकट टारिदिए । पूरा खेलमा पोल्यान्डले पाएको यही तीन अवसर हो, जसलाई उसले उपयोग गर्न सकेन । त्यसपछि खेल पूरै फ्रान्सको पक्षमा मोडियो । लोरिसले फ्रान्सबाट सबैभन्दा बढी खेल खेलेका लिलियम थुरामको १ सय ४२ खेलको कीर्तिमान पनि बराबरी गरे ।
करिम बेन्जेमा घाइते भएप्छि पहिलो रोजाइमा अवसर पाएका ओलिभर जिरुडले ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अगाडि बढाए । एम्बाप्पेको पासमा राम्रो फिनिसिङ गर्दै उनी थिएरी हेनरीको ५१ गोलको कीर्तिमानलाई उछिन्दै फ्रान्सको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो विश्वकपमा अस्ट्रेलियाविरुद्ध ४–१ को जितमा दुई गोल गर्दै हेनरीको रेकर्ड बराबरी गरेका थिए । चार वर्षअघि रुसमा विश्वकप विजेता फ्रान्सेली टोलीमा रहेका जिरुडले प्रत्येक खेलमा पहिलो रोजाइमा खेले पनि गोल गर्न सकेका थिएनन् ।
ओसमन डेम्बेलले दिएको पासमा एमबाप्पेले उत्कृष्ट गोल गरी ७४ औं मिनेटमा फ्रान्सको अग्रता दोब्बर बनाए । दुईपल्ट पेनाल्टी रोकेका गोलकिपर वोज्सिएक स्कज्निीले बल रोक्ने कुनै अवसर पाएनन् । २४ वर्ष नछुँदै विश्वकपमा आठौं गोल गर्दै एम्बाप्पेले पेले (७ गोल) को कीर्तिमानलाई उछिनेपछि प्रशिक्षक डिडियर डेसच्याम्प पनि उपाधि रक्षाको अभियानमा ढुक्क देखिए । एम्बाप्पेले सबभन्दा कम उमेरमा विश्वकपमा आठ गोल गरेका युसेबियोको कीर्तिमान पनि तोडे । उनले २३ वर्ष ३ सय ४९ दिनमा आठौं गोल गरेका हुन् । युसेबियोले २४ वर्ष १ सय ८२ दिनमा त्यो रेकर्ड बनाएका थिए । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाविरुद्ध २–० ले हारे पनि भाग्यको साथले अन्तिम १६ मा पुगेको पोल्यान्डले एम्बाप्पेको गतिलाई रोक्नै सकेन, पछ्याएजस्तो मात्रै देखियो । यसक्रममा एम्बाप्पेले मार्कुस थुरामको पासमा इन्ज्युरी समयको पहिलो मिनेटमा सेकेन्डबार च्याप्दै उत्कृष्ट गोल गरेर फ्रान्सलाई ३–० ले अघि बढाए । विश्वकपमा यो उनको नवौं गोल हो । उनले रुसमा उपाधि जित्ने क्रममा चार गोल गरेर प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए । एम्बाप्पे यो विश्वकपमा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा पुगेका छन् । इन्ज्युरी समयको अन्तिम क्षणमा कामिल ग्रोसिस्कीले प्रहार गरेको बल दायोट उपमेकानोको हातमा लागेपछि पोल्यान्डले पेनाल्टी पायो । त्यसमा लेवान्डोस्कीले हानेको प्रहार गोलकिपर लोरिसले सजिलै समाते । लेवान्डोस्कीले बल प्रहार गर्नुअघि नै फ्रान्सेली खेलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेकाले फेरि पेनाल्टी प्रहारमा गोल गरे ।