© २०२३
बुटवल, १९ मंसिर ।
बुटवलको रामनगरमा रहेको बुटवल कालिका क्याम्पसमा आइतबारदेखि खेल सप्ताह सुरु भएको छ । क्याम्पसको ९ औ वार्षिकोत्सवको अवसरमा साथै बिद्यार्थीको अन्तरनिहित प्रतिभाको विकासका लागि आयोजित खेल सप्ताहको बुटवल उपमहानगरपालिका अध्यक्ष खेलराज पाण्डेले उदघाटन गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले खेलकुदले विद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुँदा खेलकुदलाई शैक्षिक संस्थाहरुले बिशेष महत्वका साथ संचालन गर्ने गरेको बताए । त्यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले खेलकुद र पढाईका लागि समय ब्यवस्थापन गर्न सक्ने विद्यार्थीले नै चौतर्फी विकास गर्न सक्ने बताएका थिए ।
खेल सप्ताह अन्तर्गत आइतबार कुर्ची दौड, सटफुट , कबड्डी, १०० ÷४०० मिटर दौड लगायतका खेलका साथै अन्य छनोट चरणका खेलहरु रहेको खेलकुद उप–संयोजक केशव राज न्यौपानेले जानकारी दिए ।
क्याम्पसका व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अर्जुनमान सैंजु, क्याम्पस प्रमुख घनश्याम पाठक, व्यवस्थापन संयोजक बुद्धिराम चौधरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।