© २०२३
जीवन वास्तवमा एउटा खेल हो । यसका पनि आफ्ना नियम हुन्छन् । जसरी हरेक खेलका आफ्नै विधि, पद्धति र नियम हुन्छन, जीवनका पनि आफ्नै नियम र पद्धतिहरु हुन्छन् । जीवनलाई सार्थक बनाउनका लागि नियममा हिंडाउन सक्नु पर्दछ । समयमा खानु, ठीक सयममा शौचादी सक्नु, ठीक समयमा सुत्नु, ठीक समयमा उठनु, ठिक समयमा र ठिक्क बोल्नु, ठिक समयमा उठनुसंगै शरीरलाई तन्दुरुस्त पार्नका लागि केही अभ्यासहरु गर्नु, व्यक्तिगत, पारिवारिक र सामाजिक सरसफाईमा ध्यान दिनु । आफू सक्दो घर परिवारको आवश्यकता अनुसार काम गर्नु एउटा पाटो हो भने अर्को पाटोमा ज्ञान आर्जन गर्नु रहन्छ । अर्थात हरतरहबाट ज्ञानी बन्नु हो । यस्ता कुराहरु जीवनको नियम भित्र पर्दछन् ।
यी कुराहरु थोकका कुरा हुन । यसलाई अलिकति फुटकर रुपबाट हेर्ने हो भने शरीरका नियम भित्र भोजन र व्यायाम र अध्ययनलाई लिन सकिन्छ । भोजन भन्नाले पथ्यकर स्वस्थकर, ताजा र पौष्टिक कुरालाई भन्ने गरिन्छ । यसमा थप भन्ने हो भने जुन खानाले शरीरलाई तामस दिदैन त्यो खाना स्वस्थकर खाना हो । अर्थात जुन खानाले शरीर सन्तुलनमा राख्न सघाउँछ त्यस्तो खानालाई स्वास्थ्यवद्र्धक खानाको रुपमा लिने गरिन्छ । खाना स्वास्थ्यवद्र्धक भएन भने शरीर अस्वस्थ हुनसक्छ । अस्वस्थ शरीरमा मन पनि अस्वस्थ हुन्छ । जव मन अस्वस्थ हुन्छ शरीरका सबै कृयाकलाप विपरित दिशामा चल्न थाल्छन् । यसकारण खाना सन्तुलित हुनुपर्दछ भनिएको हो । हाम्रो शरीरको लागि खाना जस्तै बस्त्र पनि उत्तिकै आवश्यकता हो । जस्तो खानामा तामसी भोजन प्रयोग गर्नु हुँदैन भनियो यस्तै पोशाकमा पनि भड्किलो पोशाक रोज्नु हुँदैन । यतिवेला हामीले हाम्रो राष्ट्रिय पोशाक भुलेका छौं । विदेशी फेसनमा सजिन पाएपछि आफूलाई साह्रै भाग्यमानी ठान्ने गर्दछौं । भोजनमा पनि हामीले आफूले घरमा बनाएको खानाको कुरा भन्दा पनि बजारमा राखिएका विभिन्न प्रकारका अखाद्य बस्तु मिसिएका खानेकुरामा रमाउने गर्छाै । यहीनेर हाम्रो ठूलो कमजोरी देखिन्छ । खाना अपथ्यकर र पोशाक भड्किलो भएपछि हाम्रो जीवनशैली कस्तो होला ? यस्ता कुराहरु जीवनको खेलका ठिक नियमभित्र पर्दैनन् । खानु लाउनु मात्र जीवनशैली होइन । जीवनशैली जीवनभर गरिने सबै क्रियाकलापहरु जीवनका नियम हुन् । जसले पालना गर्न सक्छ त्यसले आफूलाई सुखी बनाउन सक्छ । जसले जीवनशैली बदल्न सक्दैनन् उनीहरुको जीवन सारमा अनुकरण गर्न लायकको हुँदैन । जीवनलाई अनुकरणीय बनाउनका लागि जीवनका नियमको वारेमा बुझ्ने र पालना गर्ने दिशामा लाग्नु पर्दछ । जीवनका नियम पालना गरेर मात्र हुँदैन । पहिले नियम पालना गर्न जान्नु पर्दछ अनि त्यसलाई पालना गर्न जान्नु पर्दछ । शरीरलाई यस्तो खानाले हानी गर्छ भनेर जान्नेहरुले पहिले त आफूले त्यसको पालना गर्नुपर्दछ । पालना गर्न नजान्नेहरुले व्यवहारबाट देखाउनु पर्दछ ।
आज हरेकको जीवनमा अनेकन झमेलाहरु रहेका छन् । त्यही झमेलामा मानिस फसेको छ । त्यसैले एउटाले अर्कोलाई गाली गलौज गर्ने, गाली गलौजको साथमा जीवनको अस्तित्व जीरोमा लैजाने मार्ग खोज्ने । अपथ्य तथा तामसी भोजन ग्रहण गर्ने र भड्किलो जीवनशैली देखाउने गर्दछन् । यस्ता कुरालाई कुकृत्य भन्दछन् । कुकृत्यले मानिसलाई ठिक गोरेटोमा हिंडाउन चाहन्न । त्यसले जीवनलाई ठिक दिशामा जान पनि दिंदैन तर आफू सचेत हुनेहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने गरेको हुनुपर्दछ । जीवनको सार भनेको क्षमता प्रदर्शन गर्नु नै हो । जससंग क्षमता हुन्छ त्यसले जीवको सार पाउँछ र जीवनको अर्थ बुझ्दछ । अनि अरुलाई पनि बुझाउन सक्दछ । जीवनको सार आफूले बुझ्नुमात्र होइन आफूले जानेका र सिकेका कुरा अरुलाई जीवन स्वस्थ र स्वच्छ बनाउका लागि बुझाउन सक्ने बन्ने प्रयास गर्नुपर्दछ । यो पनि जीवनको सार्थकता भित्र पर्दछ ।
जीवनका हरेक मोडका खेलमा अनेक पर्दाहरु हुन्छन् । जसरी नाटक मञ्चन गर्दा दृष्य अनुसार पर्दा बन्द गर्ने र खोल्ने गरिन्छ, यस्ता पर्दाहरु नाटकमा सहभागी कलाकारले पर्दा खोल्ने र बन्द गर्ने गर्दैनन् तर जीवनको दृष्यमा आफै पर्दा खोल्ने बन्द हुने गर्दछ । जीवनको दृष्यको पर्दा अन्तस्करणबाट खुल्ने र बन्द हुने गर्दछन् । यसकारण जीवनका कृयाकलाप मनभित्रबाट होइन सबैले थाहा पाउनेगरी बाहिरबाट हुनुपर्दछ । जसरी नाटक मञ्चन गर्दा एउटा दृष्य समाप्त भयो भने पर्दा खस्छ अनि अर्को दृष्यको लागि तयारी नभएसम्म पर्दा उघ्रदैन । नाटक मञ्चनको समयमा दृष्यको समाप्ति पछि पर्दा खसालिएन भने नाटकमा रहेका निर्देशक चतुर खेलाडी मानिदैनन् । चतुर खेलाडी हुनका लागि चाहे नाटकको खेल होस चाहे जीवनको खेल होस् यस्ता खेलको पूरै नियम जानेको हुनुपर्दछ । नियम नजानेकाहरुबाट गरिने क्रियाकलापहरु जीवन सुखदायी हुने कुनै सम्भावना हुँदैन । जीवनको नियम केही जनहरुलाई मात्र याद हुन्छ । सबै सबैलाई यो थाहा हुँदैन । किनकी जीवनको खेलको नियम जसले बुझेको हुन्छ त्यसले आफूले सेवन गर्ने र दैनिक रुपमा गर्नुपर्ने कार्यकलापका वारेमा सामान्यतया जानकारी राखेको हुन्छ । जसले आहार विहार जानेको हुँदैन उसले जीवनको खेलको पहिलो नियम नै बुझेको ठहर्दैन । जस्तो पहिले उल्लेख गरियो आहार विहार जस्तै समयमा सुत्नु उठनु अनि सामान्य शारीरिक कार्यकलाप गर्नुपर्ने कुराहरु प्रमुख रुपमा पर्दछन् । हुन त जीवनको खेलमा धेरै कुरा मध्येमा सामान्यतया चित्तलाई शान्त पार्नका लागि यत्तिमात्र ठिक ढंगले परिचालन गर्न सकेमात्र पनि धेरै खेलका नियमहरु आफै खुल्दै जान्छन् । यस्ता कुराको जानकारीका लागि अध्ययन मनन र चिन्तन एक साथमा अगाडि बढाउनु पर्दछ । आहार विहार किन ठिक ढंगले गर्ने भन्ने कुराको ज्ञान नभएर आफूलाई जीवनको सफल खेलमा सामेल गर्न सकिदैन । कतिपय मानिसहरु आफूलाई भन्दा अरुलाई देख्दै देख्दैनन् । यो नदेख्नु अज्ञानता हो अर्थात ज्ञानको कमी हो । अध्ययनको कमी हो । मननको कमी हो र हो चिन्तनको कमी । जीवनको खेल बुझ्न त्यति सजिलो छैन तर बुझ्न चाहनेहरुलाई यो कुनै पर्वत चढेको जस्तो पनि होइन । पर्वत चढ्न पनि विस्तारै उकालो चढने हो भने केही समय पछि उकालो पूरा गरेर चुचुरोमा पुग्न सकिन्छ तर जीवनको खेल सामान्यतया पालना गर्न नजान्ने हो भने यो न उकालो लागिन्छ न चुचुरोमा पुग्न सकिन्छ । वरु जीवन ओरालो लाग्ने मात्र हो । किनकी जीवनमा जित्नका लागि सामान्य खेलका नियम पालना गर्न जान्नु पर्दछ । कुर्सी दौड खेल्दा नियम पालना गर्नु एउटा कुरा भयो चतु¥याँई जान्नु अर्को तरिका हो । कुर्सीको वरिपरि दौडनु बाहिरबाट हेर्दाको नियम हो तर चतुरता त्यसको जीतको नियम हो । जीवन पनि यस्तै हो । कसैको जीवनको उचाई देखेर डाह गर्ने होइन त्यसको नियमको वारेमा जान्नुपर्दछ । नियम जानेर उसको उचाइ भन्दा झन उचाइ थप्ने प्रयत्न गर्ने हो भने जीवनको सफलता प्राप्त हुन्छ । अरुको स्वास्थ्य देखेर कतिपय मानिसहरु डाह गर्दछन् तर आफूले त्यो मार्ग अपनाउन सक्दैनन् । यसका लागि त जीवनको खेलको नियमका वारेमा जानेको हुनुपर्दछ ।
जीवनको सारको कुरा जान्न स्वास्थ्को कुरा एकातर्फ छ भने जीवनमा आइपर्ने झमेलाको सामना गर्न जान्नु पनि एउटा अर्को सीप आर्जन गर्नु हो । मानिसलाई जीवनमा आईपर्ने झमेलाले शरीर झन जीर्ण बनाउँछ । आहार भन्दा यस्ता झमेलाबाट पार पाउनका लागि सम्यम रहनु मानिस भित्रको विशेषता हो । यस्तो विशेषता अध्ययन मननले मात्र प्राप्त हुने हो । मानिस एक दुई छाक खाना नखाएर खासै फरक पर्दैन तर जीवनका झमेलाबाट छुटकारा पाउने शक्ति नभए दुई दिनको भोको भन्दा अझ जीर्ण बनाउँछ । यसले जीवनलाई अधोगतितर्फ लैजान सक्छ । जीवन जीवन जस्तो बनाउनका लागि जीवनको खेल जानेको हुनुपर्दछ त्यसै भनेको होइन । नाटक प्रदर्शन गर्दा एक चरण पछि पर्दा खसाल्ने र दोस्रो चरणको लागि पर्दा खसाल्ने पुनः पर्दा खोल्ने गरिन्छ । जव पर्दा खस्छ र पुनः उघ्रिन्छ अनि दोस्रो दृष्य अवलोकन गर्न सकिन्छ । जीवनपनि यस्तै एउटै खेलबाट पूर्ण हुँदैन । यस्ता खेलहरु धेरै हुन्छन् । जीवनमा पनि धेरैपटक पर्दा खस्छन र उघ्रिन्छन् । यसरी जीवन अगाडि बढ्दै जान्छ । जीवनको सार भनेको यही हो । एउटा पर्दा खुल्दैमा र खस्दैमा जीवनको कार्य सकिने वा उजागर हुने हुँदैन । यो जीवन रहेसम्म चलिरहने प्रकृया हो ।