© 2026
घरेलु हिंसा भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो मनमा शरीरमा लागेको नीलडाम, आँसुका धारा, चिच्याहट र रुवाबासीको कल्पना आउँछ । तर यस्तो प्रत्यक्ष हिंसा मात्र होइन, केही हिंसाहरू यस्ता पनि हुन्छन्, जसले न त चिच्याउन बाध्य बनाउँछ, न त शरीरमा नीलडाम देखिन्छ । तिनीहरू बोलिँदैनन्, उजागर हुँदैनन्, तर श्वास–श्वासमा चिमोटिरहन्छन् ।
यसैलाई भनिन्छ– अदृश्य घरेलु हिंसा, जसले आज लाखौँ महिलाको मनोबल, आत्मसम्मान र जीवनको सार च्यातिरहेको छ । यो हिंसा शब्द, सङ्केत, व्यवहार र मौनतामार्फत व्यक्त हुने गर्दछ, जसको पीडा गहिरो तर देखिने होइन ।
गाउँघर र सहरबिचको यथार्थ
गाउँघरमा घरेलु हिंसा अझै पनि पतिको हक, संस्कार, बुहारीको कर्तव्य, वा घरको इज्जतका नाममा ढाकछोप गरिन्छ । त्यहाँ महिलाले सहनु आफ्नो कर्म मानिन्छ । बोली बिग्रेको, काम मन नपरेको, दाइजो थोरै आएको, छोरी जन्माएको वा बाबु आमासँग कुरा गरेको आरोपमा महिलालाई दिन–प्रतिदिन गाली, तिरस्कार, कामको बोझ र एक्लोपनको सजाय दिइन्छ ।
यी सबै अदृश्य हिंसा हुन । कहिल्यै नदेखिने तर गहिरो असर पार्ने । सहरमा स्थिति केही फरक देखिए पनि मूल समस्या उस्तै छ । शिक्षित भनिने परिवारमा पनि महिलाको स्वतन्त्रता, करियर, निर्णय क्षमता र सम्मानमा कुण्ठित व्यवहार पाइन्छ । उनलाई बोल्न, पढ्न, कमाउन दिईएपनि निर्णयमा भाग नदिने, निरन्तर आलोचना गर्ने, आत्मसम्मानको हत्या गर्ने व्यवहार सजिलै देखिन्छ ।
देश र विदेश–दुवै ठाउँमा हिंसा
देशमा भएका महिलाले कानुनी सहारा लिने, आफन्तको सहयोग खोज्ने विकल्प त पाउलान् तर विदेशमा गएका महिलाको स्थिति अझ भयावह हुन्छ । कतिपय नेपाली महिलाहरू वैवाहिक सम्बन्धपछि खाडी देश, कोरिया, मलेसिया, अमेरिका, अष्ट्रेलिया जस्ता मुलुकमा पुगेका छन् तर त्यहाँ पुगेर उनीहरू पूर्ण रूपमा पतिमा निर्भर, सामाजिक रूपमा अलगावमा र भाषिक तथा कानुनी जानकारीबिना बसिरहेका हुन्छन् । अदृश्य हिंसा यस्ता प्रवासी महिलाहरूमा अझ गहिरो हुन्छ ।
पति बोल्दैन, साथ दिन्न, आर्थिक नियन्त्रण गर्दछ, मायामा दूरी बनाउँछ, अपमान गर्छ, तर कुट्दैन । अनि महिला आफ्नै विवेकसँग लड्दै ‘यो त ठिकै हो’ भन्दै आत्मा बिर्सन्छिन् । अदृष्य हिंसा लुकाएर बस्नुपर्ने कुरा होइन । यसको सामना गर्न समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । स्थानीय सरकार, महिला समूह, शिक्षक, धार्मिक अगुवा, सामाजिक अभियन्ता सबैले हिंसाको चिरफार गर्नुपर्छ । हामी बोल्नुपर्छ । सुन्नु मात्र होइन, बुझ्नुपनि पर्छ । यदि छिमेकी घरमा महिला एक्लो छिन्, निरन्तर चुप छन्, दुःखी देखिन्छिन् भने सोध्नुपर्छ– “के तपाईं ठिक हुनुहुन्छ ? भनेर । साथ दिइनुपर्छ । त्यसपछि मात्रै अदृष्य हिंसा उजागर हुन्छ ।
मिडिया र प्रविधिको योगदान
सामाजिक सञ्जाल, अनलाइन समाचार, युट्युब च्यानल, एफएम रेडियो आदिले अब हिंसाका खबरहरू ल्याउन थालेका छन् । महिलाहरूले आफ्ना कथा भन्न थालेका छन् । मोबाइल एप्सबाट उजुरी गर्न मिल्ने व्यवस्थाहरू पनि आएको छ । प्रविधिको सहायताले आवाजलाई विस्तार मिलिरहेको छ । यद्यपि कतिपय सामाजिक सञ्जालहरूले महिलाको आत्मसम्मानमा हमला गर्ने, अपमानजनक ट्रोल र गालीगलौज गर्ने प्रवृत्तिहरू पनि छन्, जसलाई नियन्त्रण गर्न डिजिटल कानुन र नारी अनुकूल साइबर नीति आवश्यक छ ।
बालबालिका र परिवारमा असर
घरेलु हिंसाको असर केवल महिलामाथि मात्र सीमित हुँदैन । यसले घरभित्र हुर्किरहेकाहरूको मनोविज्ञानमा गहिरो असर पार्छ । बच्चाले बाबु आमाको मौन युद्ध देखिरहँदा, आमाको आँखा लुकाएको पीडा पढिरहँदा, ऊ पनि चुपचाप सिकिरहन्छ– “शक्ति को हो, पीडा को हो ।” ति अदृश्य हिंसालाई कहिल्यै चिन्न, चिनाउन र रोक्न सकिएन भने त्यो पीडाको शृंखला पुस्तौंसम्म सर्छ । अन्तिम सोच– अब मौन बस्ने बेला होइन । अदृष्य घरेलु हिंसा अब “नदेखिएको” मात्र होइन, “नछोएको” विषय पनि होइन ।
अब महिलाहरूले बोल्नुपर्छ, पुरुषहरूले बुझ्नुपर्छ, समाजले समर्थन गर्नुपर्छ । मौनता हिंसाको शक्तिशाली सहयोगी हो, त्यसैले अब मौन बस्न मिल्दैन । हामीले बुझ्नुपर्छ– ‘घर’ भन्नाले मात्र छत, भित्तो र भान्सा होइन । घर भन्नाले सम्मान, प्रेम, स्वीकृति र स्वतन्त्रता हो । यदि ती छैनन् भने त्यो घर होइन, जेल हो । आजको महिला चुपचाप सहेर होइन, सचेत भएर, बोल्न थालेको महिला हो । त्यसैले हामी सबैको कर्तव्य हो– अदृष्य घरेलु हिंसाविरुद्ध देखिनेगरी समर्थन गर्ने ।