© 2026
काग्रेस सभापति शेरवहादुर देउवा केही दिन अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना दलवलसहित गएर प्रधानमन्त्रीलाई ठाडै हकार्दै भने– विधालाई राजनीतिमा आउन नदिनुुस् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टी राजनीतिमा आउनबाट बन्देज लगाउन सकेको प्रयास गर्नुस भन्ने आशयको धम्कीपूर्ण चुनौति दिदै प्रधानमन्त्रीसित देउवाले प्रश्न गरे । सेनाको परमाधिपति भैसकेको व्यक्ति राजनीतिमा आउन वाञ्छनीय हुन्छ भने यो विषयमा हामीले नोटिस गरेका छौं ।
पूर्ण प्रधानमन्त्री शेर वहादुरले केपी ओलीलाई यसो भनिरहदा नेपाली जनताले के कुरा विर्सेका छैनन भने यस अघि राजा ज्ञानेन्द्रले देश भ्रमणका व्रmममा जनतासमक्ष सरकारका गुनासाहरू प्रकट गर्दा राननीति गर्ने मन भए हामीले जस्तै चुनाव लडेर आउ नत्र भने सरकारको विरोधमा जनता भडकाउन पाइदैन भन्दै राजालाई संसद भित्रबाट, संसद बाहिरबाट र वेला कुवेला विभिन्न प्रसङ्गहरूमा प्रचण्ड, ओली गगन थापा लगायतसित स्वरमा स्वर मिलाउँदै धेरै पटक ललकारेका थिए ।
यहाँनेर प्रश्न उठछ– के राजा ज्ञानेन्द्र सेनाका परमाधिकारी थिएनन् त्यसबेला ? यदि एकपटक सेनाको परमअधिकारी भैसकेको व्यक्ति राजनीतिमा आउन हुदैन भन्ने मान्यता हो भने त्यो मान्यतालाई लत्याएर शेरबहादुर लगायतले अझैपनि बेला बेलामा राजा ज्ञानेन्द्रलाइ राननीति गर्ने मन छ भने हामी जस्तै चुनाव लडेर आऊ भन्ने चुनौति किन दिइरहन्छन् ?
विद्यालाई सेनाको परमाधिपति भैसकेको व्यक्ति राजनीतिमा आउन हुँदैन भनेर सल्लाह दिनेहरूले त्यस्तै सेनाको परमाधिपति भैसकेका राजालाई राजनीतिमा भाग लिएर चुनाव लडी हामीसित प्रतिस्पर्धा गर्न आए हुन्छ भन्ने सल्लाह दिनुको अर्थ के हो ? के एउटै मान्यता फरक फरक व्यक्तिको लागि फरक फरक ढंगबाट लागू हुन्छ ? के नेपालको लोकतन्त्रमा सत्ता र शक्तिमा वसेकाहरूले जसले जे बोले पनि भयो ? जे भने पनि भयो ? जे भएपनि भयो ? अहँ त्यसो हुन सक्दैन । मनपरि वोल्ने छुट कसैलाई हुन सक्दैन ।
यदि संविधान कानुनमा नै एकपटक सेनाको परमाधिपति भैसकेको मान्छे राजनीतिमा आउन पाइदैन भन्ने नियम छ भने त्यो नियम सबैको लागि समान किसिमबाट लागू हुनुपर्छ होइन भने कानुनमा उल्लेख नभएको कानुनले बन्देज नलगाएको विषयलाई लिएर बर्वराउनुको तुक छैन ।
राजनीतिका जानिफ कारहरू भन्दछन्– विद्याको राजनीतिमा प्रवेश र सकृयताले एमाले भित्रको ओली धारमा मात्र होइन एमाले वाहिरका विभिन्न शक्ति केन्द्रहरूमा पनि तरङ्ग ल्याइदिएको छ । काँग्रेस र एमालेको ओली वृत्तमा त ६ रेक्टरको भूँइचालो जानु स्वाभाविकै हो, अरू शक्ति केन्द्रहरू पनि झस्केका छन् ।
यदि विद्या राजनीतिको केन्द्रविन्दुमा आइन् भने एमाले पार्टीलाई आफू अनुकूल नचाउन पाइने छैन । साथै विद्याको प्रयासले स–साना सबै वाम घटकहरू एकतावद्ध भई एकीकृत पार्टी या संयुक्त वाममोर्चा बनेर आगामी निर्वाचनको परिणाम वामपन्थी शक्तिको पोल्टामा जाने डरको छटपटीले उनीहरूका ओठ–मुख सुकेका हुन् ।
विद्या राजनीतिमा आइन् भने एमाले पार्टीको नेतृत्व आफ्नो हातमा रहदैन् । अध्यक्ष बन्न पाइदैन साथै विद्याले काग्रेस जस्तो कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी, प्रतिस्पर्धी पाटीसित असैद्धान्तिक गठबन्धन गरी उनीहरूसित मिलेर चुनाव लड्नुको वदला साना ठूला सबै कम्प्युनिष्ट तथा वामपन्थी धारका पार्टीसित मिलेर संयुक्त वाम मोर्चा वनाइ वाम मार्चाको नेतृत्वमा मिलेर चुनाव लड्ने संभावना बलियो हुँदा आफूबाहेक अरू कोही माथि उठेको देख्नै नचाहने केपी ओली र काँग्रेसमा पनि आफूबाहेक कोही माथि नउठोस भन्ने दुरासयले पीडित शेरवहादुर देउवा दुवै अत्तालिएका हुन् ।
विद्यादेवीको राजनीतिमा पुनरागमन र शक्रियता साथ अगाडि बढन् विद्याको यही गर्जनले एमालेभित्रै सातो गएको छ । आफ्नो सातो फुकाउन पार्टी पोलिटव्युरो वैठक र केन्दीय समिति बैठक पछि दुवै बैठकमा सकुनीको चालबाट आफू अनुकुल निर्णय गराउन सफल हुँदा यसअघि दुईवर्ष अगावै नवीकरण भैसकेको विद्याको पार्टी सदस्यता खारेजीमा परेको जनाएपनि विद्या भने त्यसै खुम्चिएर बस्लिन् जस्तो लाग्दैन । म माझ किराँतकी छोरी हुँ, त्यसै चूप लागेर वस्दिन भन्ने उनको शीष्ट तर आक्रोशपूर्ण गर्जनले पनि त्यही वताउँछ जो पत्रकार सम्मेलन मार्फत सन्देश दिएकी छन् ।
चाहे जुनुकुनै दलको होस् काँगे्रसमा होस् अथवा एमालेमा पार्टी नेतृत्व कसको पकडमा जान्छ ? आगामी ०८४ को निर्वाचनमा कसले धेरै मत हासिल गर्दछ र प्रधानमन्त्री को बन्छ भन्ने मुख्य सवाल होइन । पार्टीको नेतृत्व हाँक्नेको व्यक्तिगत आचरण नीति, व्यवहार, नैतिकता, उसमा भएको चारित्रिक गुण कस्तो छ भन्ने सवाल हो ।
वर्तमान एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको वानी के व्योहोरा, व्यवहार एवं उहाँको नैतिकता तथा उहाँका चरित्र कस्तो छ ? भन्ने प्रश्नको उत्तर खोज्न कसैलाई सोध्नुपर्दैन । प्रधानमन्त्रीको सपथ खाँदा इश्वरको नाममा कसम खानुपर्दा राष्ट्रपतिलाई त्यो पर्दैन भनेर सपथग्रहण कार्यक्रमकै खिल्ली जो उडाउनु भएको थियो त्यसले पनि उहाँमा भएको अहंकार र शक्तिको उन्मादलाई चिनाईदिएको छ ।
त्यति मात्र होइन, सपथ ग्रहण गरी पदमा बहाल भएको वर्ष दिनभित्र प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण निर्वाचन आयोग समक्ष पेस गर्नुपर्ने नियम छ तर उहाँले पालन गर्नु भएको छैन । न त आफू मातहतका मन्त्रीहरूलाई यो अनिवार्य नियम पालन गराउनु भएको छ ।
त्यसैगरी गिरीबन्धु जग्गा घोटला, भ्यूटावर काण्ड लगायत उहाँमाथि लागेका अनेकौं काण्डहरूका आरोप र ती आरोपको खण्डनका लागि मूखले हेर्ने हैन भन्ने तर निस्पक्ष शक्तिशाली छानविन आयोग गठन गरेर सही अनुसन्धान गराउन नचाहने व्यवहारबाट उहाँको चरित्रको वारेमा सधै राष्ट्रिय वहस गरिरहनु पर्दैन ।
आज देशका सम्पूर्ण बुद्धिजीवी, अधिकांश सरकारी कर्मचारी, प्रबुद्ध नागरिक किसान, मजदूर, व्यापारी, व्यवसायी, उद्योगपति, पेशाकर्मी कोही पनि सम्मानीय प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको सरकारका मन्त्रीहरू र उहाँप्रति सन्तुष्ट छैनन् । उसो भए उहाँको विकल्पमा आउन सक्ने अर्को चरित्र तथा सक्षम पात्र को त ? भन्ने सवालमा काँगे्रस नेता शेरबहाुर देउवाले आफू स्वयं अथवा आफ्नी पत्नी आरजु देउवालाई अघि सार्न खोजेको संकेतको रूपमा केही समयपछि तपाईहरूले महिला प्रधानमन्त्री पाउनु हुने छ भनेको कथनबाट बुझ्न अप्ठेरो पर्दैन ।
आफू प्रधानमन्त्री हुँदा देउवाले गर्नुभएको कर्महरू न आरजु देउवाका सत्कर्महरूका बारेमा पनि उहाँहरूका कीर्तिमानी कामका सन्दर्भमा बेला बेलामा जो राष्ट्रिय बहस छ दिने गरेका छन् । ती सबैले उहाँहरूको भूमिकालाई पनि उजागर गरिरहेका छन् ।
यही राष्ट्रिय परिवेशमा आएको विद्यादेवीको राजनीतिमा पुनः आगमन उपयुक्त छ र उपयुक्त छैन भन्ने जो राष्ट्रव्यापी बहसको लहर चलेको छ, त्यसमा को आउँदा ठीक र को नआउँदा बेठीक भन्नुपनि कस्का आचरण तथा चरित्र जनमुखी छन् र कसका अनाचरण तथा चरित्र जनविराधी, राष्ट्रहित विपरीत र लोकतान्त्रिक मूल्य मान्यतामाथि उपहास गर्ने चरित्रका छन । हामीले विचार गर्नुपर्ने कुरो त्यही हो ।
राजनीतिमा व्यक्ति विशेषको मायाले काम चल्दैन । व्यक्तिबादी सोचाइले राष्ट्रको भलो गर्दैन । विद्याको छवि आजका दिनसम्म नधमिलिएको हुँदा लापाजी पापाजी र भष्टाचारीहरूलाई संरक्षण दिने पाप कर्ममा अहिलेसम्म उनी नफसेको हुँदा उनी राजनीतिक नेतृत्वमा आइन भने देशका आर्थिक कमजोरीहरू के के छन् भन्नेतर्फ ध्यान दिइ त्यसको सभाधानमा लाग्छिन् कि भन्ने आशा हो ।
तथा राजनीतिको माथिल्लो तहको निम्ति भैरहेको बढी भन्दा बढी सुविधाहरू उनीहरूलाई दिँदा गहिरिदै गएको आर्थिक संकट, र अनावश्यक खर्चले र त्यसमा यि थप भ्रष्टचारको उर्लदो बाढीले सबै भत्केको स्थितिलाइ सपार्नमा इमान्दारीताका साथ लाग्थिन् कि भनेर हो ।
वर्तमान शासकहरूबाट लगातार बढ्दै गइरहेको अनियमितता तथा राष्ट्रघातमाथि वे्रक लागि राष्ट्र लाभान्वित वन्ने थियो कि भन्ने आशा हो । यिनै प्रसंगहरूमा विद्याको राजनीतिमा पुनरागमन तथा सक्रिय सहभागिता देशको लागि अपरिहार्य छ । यसलाई यसरी बुझौं– उनको उपस्थिति परिस्थितिको उपज हो । यसलाई कसैले पनि आफ्नो द्रोह ठान्नु उचित छैन ।