Butwal Today

लोसपाका सन्तोष पाण्डेय लुम्बिनीको खेलकुदमन्त्री नियुक्त, भोलि शपथ

११ श्रावण २०८२, आइतबार
अ+
अ-

बुटवल, ११ साउन ।

लुम्बिनी प्रदेशमा सरकार बनेको एक वर्षपछि मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् । उक्त मन्त्रालय मुख्यमन्त्री आचार्यले सम्हाल्दै आएका थिए ।
मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पाण्डेयलाई युवा तथा खेलकुदमन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८१ साउन ९ गते गठन गरिएको र पछिल्लोपटक कात्तिक ७ गते पुनर्गठित मन्त्रिपरिषद्‌मा पाण्डेलाई युवा तथा खेलकुदमन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरेको जनाइएको छ ।

पाण्डेले सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको लोसपा संसदीय दलका प्रमुख सचेतक हेमा बेल्वासेले जानकारी दिइन् ।

मुख्यमन्त्रीसहित हाल ११ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्‌मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका थिए ।

वर्तमान मन्त्रिपरिषद्‌मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन् ।