© 2026
काठमाडौं, ११ साउन ।
संघीय निजामती सेवा विधेयकमा उल्लेख भएको ‘कुलिङ अफ पिरियड’ प्रावधानका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुट्ने भएको छ।
समितिले ती शीर्ष तीन नेतासँग दुईवटा प्रश्नमा केन्द्रित रहेर भेटवार्ता गर्ने तयारी गरेको छ। ती प्रश्नहरू यसप्रकार छन :,
१. कुलिङ अफ पिरियडसम्बन्धी तपाईंको धारणा के हो ?
२.यस विषयमा समितिलाई तपाईंले के सुझाव दिन चाहनुहुन्छ ?
छलफलका क्रममा प्राप्त हुने भनाइ तथा सुझावहरू रेकर्ड गरी अन्तिम प्रतिवेदनमा समावेश गरिने समितिको तयारी छ। शीर्ष नेताहरूको धारणा र सुझावले राष्ट्रिय सभामा भइरहेको विधेयकको छलफलमा मार्गदर्शन प्रदान गर्ने समितिको विश्वास छ।
प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था निश्क्रिय हुने आशंका उठेपछि प्रतिनिधि सभाले विशेष छानबिन समिति गठन गरेको थियो।
राष्ट्रिय सभामा भने सो प्रावधान हटाउने सुझावसहित संशोधन दर्ता भइसकेका छन्, जसमा नेकपा एमालेका सांसदहरूले नै संशोधन प्रस्ताव गरेका छन्।
छानबिन समितिमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।
सभामुख देवराज घिमिरेले समितिलाई प्रारम्भमा २१ दिनको समय दिएका थिए। तर, तोकिएको समय अपुग भएको भन्दै समितिले थप समय माग गरेपछि गत शुक्रबार एक हप्ताको म्याद थप गरिएको हो। अब समितिले साउन १९ गतेभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।