Butwal Today

कुलिङ पिरियड २ वर्ष होइन, ४ वर्ष हुनुपर्छ: कांग्रेस सांसद भट्ट

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ६ साउन।

नेपाली कांग्रेसले संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको दुई वर्षे कुलिङ पिरियडलाई बढाएर चार वर्ष बनाउनु पर्ने प्रस्ताव अघि सारेको छ।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड हुनैपर्ने र दुई वर्षको साटो अब चार वर्ष कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा विधेयकमा, सरकारी कर्मचारीले राजीनामा दिएको वा अवकाश प्राप्त गरेपछि दुई वर्षभित्र संवैधानिक, कूटनीतिक वा अन्य पदमा नियुक्ति नपाउने व्यवस्था गरिएको छ। तर उक्त व्यवस्थालाई कमजोर बनाउने गरी विधेयकको प्रतिवेदनमा भाषिक परिवर्तन गरिएको भन्दै विवाद उठेको थियो। सोही कारण प्रतिनिधिसभामा यसबारे संसदीय विशेष छानबिन समिति गठन गरिएको हो। राष्ट्रिय सभामा भने विधेयक अगाडि बढाइएको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले कुलिङ पिरियड नै नराख्ने संशोधन प्रस्ताव पेस गरेपछि कांग्रेस सांसद भट्टले त्यसको विरोध गर्दै अवधि थप्ने वैकल्पिक प्रस्ताव अघि सारेका हुन्। २०८४ धेरै टाढा नभएको भन्दैँ यसमा दायाँ–बायाँ नगर्न चेतावनी दिएका छन ।

सांसद भट्टले राष्ट्रिय सभाले विवेकका आधारमा निर्णय लिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?