Butwal Today

पाणिनी गाउँपालिकाबाट कृषकलाई मिल अनुदानमा वितरण

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

अर्घाखाँची, ०६ साउन ।

जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीका रामबहादुर विकलाई कुटानी पिसानीका लागि मिलमा गइरहन धौँ–धौँ पर्दै आइरहेको थियो । गाउँघरमै विद्युतबाट चलाउन सक्ने सामान्य सस्तो रकमको मिल राख्ने रहर उनलाई जागिरहेको थियो । तर नयाँ मिल किन्नका लागि ५० हजार रकम जुटाउन पनि गाह्रो परिरहेको थियो ।

गाउँपालिका तथा वडामा बजेट विनियोजन गर्दा घरघरमा राख्न मिल्ने गरी साना खालका मिलहरू अनुदानमा बढ्नका लागि जनप्रतिनिधि कर्मचारीसँग आग्रह गरिरहेका थिए । उनको आग्रह र गाउँपालिकाका अधिकांश कृषकहरूको अनुरोधमा नीति तथा कार्यक्रम र बजेट ल्याएर गाउँपालिकाले कम्पाईन मिल वितरण गर्ने योजना अगाडि बढायो ।

गाउँपालिकाले सार्वजनिक रूपमा १५ दिने सूचना आव्हान गरेर मिल आवश्यक पर्ने कृषकहरूलाई कृषि तथा पशुपक्षी फर्म भएकालाई अनुदानमा दिने गरी १५ दिने सूचना आव्हान गरेको हो । मिल प्राप्त गरेपछि कृषक रामबहादुर भन्छन्, पेलाउनका लागि टाढा टाढा पुगियो, गाडीमा पनि हिँडेर दिनभर नै लाग्थ्यो, दुर्गा फाँट देखि चिवेकका मिलसम्म पुगिन्थ्यो, दिन नै बित्थ्यो ।

अहिले गाउँमै साना मिलहरू सञ्चालन हुँदा सजिलो भएको छ, स्थानीय सरकारले पनि अनुदानमा सामग्रीहरू दिएको छ, उनले भने । त्यस्तै सुचना जारी भएको जानकारी पाएपछि वडा नं. २ पोखरा थोकमा सुवेक्षा कृषि तथा पशुपक्षी फर्मका सञ्चालक पुष्पा ढुङ्गाना पनि मिल आवश्यक छ, भनी वडा कार्यालयमा पुगेर निवेदन दर्ता गराइन् ।

निवेदन पछि गाउँपालिकाले प्रक्रिया पूरा गरेका कागजात ठिक कृषकलाई मिल दिनका लागि नामावली छनोट ग¥यो । ढुङ्गाना पनि मिल प्राप्त गर्ने कृषकको रूपमा छनोट भइन् । मिलमा पिसाउन र पेलाउनकै लागि पानिमिलमा पुग्दा दिनभर पनि लाग्दथ्यो, ढुङ्गाना भन्छिन्, घरमै मिल भएपछि सजिलो भयो ।

पाणिनी गाउँपालिका वडा नं. ५ मैदानका व्यावसायिक कृषक टोपलाल गैरेले पनि गाउँपालिकाको नियमअनुसारको प्रक्रिया पूरा गरी मिल पाएपछि खुसी छन् । गाउँपालिकाले दिएको अनुदानबाट आधुनिक धान कुटानी मिल प्राप्त गरेपछि गाउँमै धान कुटाउने गहुँ, मकै पिसाउने सुविधा पाएका छन् ।

मकै, धान वा गहुँ कुटाउन पिसाउन कहिले चिवेक त कहिले धातिवाङ्ग धाउनुपर्ने बाध्यता थियो । तर अहिले मिल स्थापना भएसँगै समय, खर्च र श्रम बचत भएको छ । उनीहरू जस्तै कृषकको लागत सहभागीता ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लागत सहभागितामा प्राप्त ९६ निवेदन मध्ये ९२ जना कृषकले गत आर्थिक वर्ष २०८१/०८२ मा मिल दिएको गाउँपालिका कृषि शाखा प्रमुख मेघराज पौडेलले जानकारी दिए ।

निवेदन प्राप्त भई नपुगेका ४ कृषकलाई यो आर्थिक वर्षको कार्यक्रम बाट वितरण गर्छौँ । गाउँपालिकाले १८ लाख ५० हजार रकम विनियोजन गरी योजना अगाडि बढाएका थियौँ, ४ मिल मात्र गत वर्ष पुगेन, यो वर्ष निरन्तरता दिन्छौँ, शाखा प्रमुख पौडेलले भने ।

सूचनामा सूचीकृत कृषकहरूलाई मात्रै मिल वितरण गरेका छौँ, निवेदन नदिएकालाई दिएनौँ, एक वटा मिलको टेन्डर हुँदा करिब ३्० हजारमा सप्लायर्सले दिएको हो । एउटा मिलको कृषकको लगानी १४ हजार ४ सय ७२ रूपैँया र गाउँपालिकाको सोही रकम बराबर अनुदानमा मिल ल्याइएको हो, ८ वटै वडामा मिलहरू पुराएका छौँ ।

पाणिनि गाउँपालिकाले गत वर्षहरूमा हाते ट्याक्टर वितरण गरेको थियो । यो आर्थिक वर्षमा बजेटमा समावेश गरी कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गाउँपालिकाको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने बताउँछन् ।