© 2026
भैरहवा, २७ असार ।
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (मेडिकल कलेज) यस क्षेत्रको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको मात्र होइन, रोजगारी सिर्जनाको पनि एउटा महत्त्वपूर्ण केन्द्र बनेको छ ।
प्रत्यक्ष रूपमा १ हजार २० जनालाई रोजगारी दिएर यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा अतुलनीय योगदान पु¥याइरहेको यो संस्थाले गुणस्तरीय चिकित्सा शिक्षा र सुलभ स्वास्थ्य सेवाको पर्याय बनेको छ । संस्थाले स्थापनाकालदेखि नै हजारौँ दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नुका साथै लाखौँ बिरामीको उपचार गरिसकेको छ । मेडिकल कलेजमा सूचना अधिकारी सुशील गुरुङले १ सय ६२ जना चिकित्सक, २ सय ८६ जना नर्सिङ कर्मचारी र ५ सय ६२ जना प्रशासनिक कर्मचारी गरी १ हजार १० जना कर्मचारी रहेको बताए ।
यस बाहेक सफाइकर्मी, सुरक्षा गार्ड, प्लम्बर, ईलेक्ट्रिसियन लगायतका क्षेत्रबाट पनि कलेज प्रशासनले सोही अनुपातमा रोजगारी दिएको छ । मेडिकल कलेजकै कारण यस वरपर फार्मेसी, सामान्य चिया खाजा पसल लगायत गरेर अन्य सयौ जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । १० हजार २० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै यो संस्था भैरहवाको आर्थिक गतिविधिको एक महत्त्वपूर्ण मेरुदण्ड बनेको छ । विशाल जनशक्ति र सेवाग्राहीको आवतजावतले यहाँको बजारलाई चलायमान बनाउँदै भैरहवा हुदै समग्र अर्थतन्त्रमा टेवा पुर्याएको छ ।
मेडिकल कलेजले यति ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुले भैरहवा र यस आसपासका क्षेत्रका सयौँ परिवारको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुगेको छ ।“कलेजमा काम गर्न थालेदेखि हाम्रो परिवारको आर्थिक अवस्था निकै राम्रो भएको छ,” नाम उल्लेख नगरिदिने सर्तमा कार्यरत एक नर्स बताउँछिन्, “घर चलाउन मात्र होइन, बालबालिकाको पढाइ र अन्य खर्चका लागि पनि अब चिन्ता गर्नुपर्दैन ।”यी कर्मचारीहरूले आर्जन गर्ने आम्दानीले स्थानीय बजारमा वस्तु तथा सेवाको खरिदमा वृद्धि ल्याएको छ । यसले उपभोग्य वस्तुको माग बढाउनुका साथै साना तथा मझौला व्यवसायहरूलाई फस्टाउन मद्दत गरेको छ ।
युसिएमएसको विशाल परिसर र दैनिक हजारौँको सङ्ख्यामा हुने विद्यार्थी, कर्मचारी, बिरामी तथा तिनका आफन्तहरूको आवतजावतले भैरहवाको बजारलाई चलायमान राखेको छ । यसको सीधा प्रभाव स्थानीय खुद्रा पसल, किराना पसल, तरकारी तथा फलफूल पसल, फेन्सी स्टोर, पुस्तक पसल लगायतका व्यवसायहरूमा परेको छ । कलेजका विद्यार्थीहरूले आफ्नो शैक्षिक सामग्री, व्यक्तिगत सामान र दैनिक उपभोग्य वस्तुहरू स्थानीय बजारबाटै खरिद गर्छन् ।यसैगरी,अस्पतालमा उपचारका लागि आउने बिरामीका आफन्तहरूले पनि विभिन्न आवश्यकताका लागि स्थानीय पसलहरूमा निर्भर रहन्छन् । यो गतिविधिले स्थानीय अर्थतन्त्रमा निरन्तर नगद प्रवाह सृजना गर्दछ ।“युनिभर्सल कलेजकै कारण हाम्रो व्यापार भइरहेको छ ।,“ भैरहवाका एक खुद्रा व्यापारी भन्छन्,“कलेजका विद्यार्थी र अस्पतालका बिरामीका आफन्तहरूले हाम्रो मुख्य ग्राहक हुन् ।”
सन् १९९८ मा स्थापना भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी मेडिकल कलेजहरूमध्ये एक हो । रुपन्देहीको भैरहवा जस्तो मध्य–तराईको केन्द्रमा यस्तो सुविधा सम्पन्न कलेजको स्थापना हुनुले यस क्षेत्रका विद्यार्थीहरूलाई चिकित्सा शिक्षाका लागि विदेश नै धाउनुपर्ने बाध्यता हटायो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कलेजले एमबिबिएस, बिडियस, नर्सिङ, फार्मेसी, लगायतका विभिन्न स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको यसको प्राचार्य लक्ष्मी पाठकले बताइन ।
विभिन्न रोगहरू र स्वास्थ्य समस्याहरू माथि गरिने अनुसन्धानले नयाँ ज्ञानको सिर्जना गर्नुका साथै विद्यार्थीहरूमा वैज्ञानिक सोच र अनुसन्धान गर्ने क्षमताको विकास गर्नु कलेजको मुख्य उद्देश्य रहेको पाठक बताउँछिन् । “यसले भावी चिकित्सकहरूलाई स्वास्थ्य क्षेत्रमा आउन सक्ने नयाँ चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ ।” पाठकले भनिन् “हरेक वर्ष युसिएमएसबाट उत्पादित २ सय भन्दा बढी सयौँ चिकित्सक र स्वास्थ्यकर्मीहरूले देशका विभिन्न भागमा पुगेर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मद्दत गरिरहेका छन् ।”अस्पतालले रुपन्देहीका साथै लुम्बिनी प्रदेशका अन्य जिल्ला तथा सीमावर्ती भारतीय बिरामीहरू यहाँ उपचार गराउने गरेका छन् । सामान्य चिकित्सा, शल्यक्रिया, बाल रोग, स्त्री रोग तथा प्रसूति, हाड जोर्नी, आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, मानसिक स्वास्थ्य लगायतका दर्जनौँ विशेषज्ञ सेवाहरू यहाँ उपलब्ध रहेको सूचना अधिकारी सुशील गुरुङ बताउँछन् ।
यस्तै आधुनिक डायग्नोस्टिक सुविधा अन्तर्गत अस्पतालमा अत्याधुनिक सिटी स्क्यान, एमआरआई, एक्सरे, अल्ट्रासाउण्ड र विभिन्न प्रकारका प्रयोगशाला परीक्षणहरू रहेका छन् । सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत अस्पतालले नियमित रूपमा विभिन्न स्वास्थ्य शिविरहरू आयोजना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवाको पहुँच पु¥याईरहेको यसका जनसम्पर्क अधिकारी तेज केसी बत्ताउँछन् । यस्ता सामुदायिक स्वास्थ्य सेवाले जनचेतना बढाउन र विभिन्न रोगहरूको रोकथाममा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।