© २०२३
पर्यटन पनि उद्योगको एक हिस्सा हो । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पर्यटन ब्यवसायबाट पनि हुन्छ । हाम्रो जस्तो मुलुकमा आर्थिक विकासको मुख्य आधार पर्यटन हुनाले देश विकासको लागि पर्यटन विकासमा जोड दिनु आवश्यक छ । देश विकास भन्नु नै देश भित्रका हरेक ठाउँको विकास हुनु हो । यस्तै विकास गर्नुपर्ने ठाउँ मध्य एक हो पाल्पा माथागढी । यस ठाउँको विकास गर्न अन्य कार्यहरुका साथै पर्यटन पनि एक प्रमुख पाटो हो । यदि हामीले पर्यटनको विकास गर्दै जान सकेमा हाम्रो ठाउँको पनि विकास हुने देशको पनि विकास हुने हुँदा हरेक ठाउँ जहाँ कुनैपनि किसिमको पर्यटन विकास गर्न मिल्छ भने पर्यटन विकासमा जोड दिनु उपयुक्त हुन्छ ।
पर्यटन भनेको घुम्नु फिर्नु हो । मान्छेलाई जतिसुकै सुख सुबिधा भएपनि कहीं न कहीं घुमफिर गर्न जान मन लाग्छ । यो स्वभाविक हो । यस बाहेक काम विशेषबाट पनि एक अर्को ठाउँमा जानुपर्ने हुन्छ । सायद यही भएर होला हाम्रा पूर्वजहरु धर्म कर्म गर्न भन्दै कैयौं दिन पैदल हिंडेर भएपनि तिर्थ ब्रतको लागि जाने गर्नुहुन्थ्यो । अहिले अलिक फरक भनेको यातायातको साधनको प्रयोग र ब्यवसायको रुपमा पर्यटनको विकास भएकाले पहिलाको तुलनामा केही बढी सुबिधाजनक छ ।
हामीलाइ लाग्न सक्छ– हाम्रो जस्तो गरिब र धुले हिले देशमा बाहिरका मान्छे के का लागि घुम्न आउलान् र ? बरु हामी पो पैसा भए बिदेशतिर घुम्न गइएला । तर कुरो त्यसो होइन । पर्यटक जो घुमफिर गर्न जाने मान्छे हुन्छन् उनीहरुलाई देश धनी छ वा गरिब त्यसको खासै सरोकार हुंदैन बरु देशका मान्छे कस्ता छन्, प्रकृति कस्तो छ, संस्कृति कस्तो छ, इतिहास कस्तो छ, मान्छेको स्वभाव कस्तो छ, देशको प्रशासनिक कार्य कतिको सरल छ आदि यस्ता थुप्रै कारण हुन्छन् जसलाई हेरेर मानिस त्यो देश वा ठाउँमा घुमफिर गर्न आउन मन पराउँछन् । फेरि यसरी घुम्न आउने जाने मानिसहरु एकथरी देश भित्रकै हुन्छन् जसलाई आन्तरिक पर्यटक भनिन्छ । अर्को देश बाहिरबाट आउने हुन्छन् जसलाई बाह्य पर्यटक भनिन्छ । आजकल हामी कहाँ आन्तरिक पर्यटक पनि निकै बढ्दै गएको पाइन्छ । त्यसैले सकेसम्म देशको हरेक ठाउँ पर्यटकीय बन्नुपर्छ । देशभित्रका मान्छे देशको हरेक भागमा घुम्न हेर्न जानुपर्छ । यसबाट हामी नेपाली बीच एक अर्कोसंग परिचित हुने, घुलमिल हुने र नयाँ कुरा सिक्ने भूगोल जान्ने मौका पाइन्छ । संगै एक आपसमा आत्मीयता बढ्न गई राष्ट्रिय एकता समेत बलियो हुन जान्छ ।
देशको हरेक ठाउँभित्र पर्ने एक ठाउँ हो पाल्पा माथागढी । पाल्पा जिल्लाको पूर्व, मध्य र दक्षिणी भागमा पर्ने माथागढीको दक्षिण पूर्वतर्फ परासी जिल्लाको सुनवल नगरपालिका, दक्षिण पश्चिम रुपन्देहीको देवदह नगरपालिकासंग सिमा जोडिएको छ । देवदहको खैरहनी बजारदेखि उत्तरतर्फको महाभारत पहाड खण्डमा पर्ने टाकुरा माथागढी नामले चिनिन्छ । गढ भनेको ठूलो चौकी र गढी भनेको सानो चौकी हो । माथा भनेको निधार । अग्लो भागमा भएकाले दक्षिणतर्फको सम्म मधेश खण्ड पनि देखिने उत्तरतर्फ पनि स–साना डाँडा खोंच खोल्सा खोला देख्न सकिने हुनाले सुरु सुरुमा राजा महाराजाहरुले आफ्नो राज्यको सुरक्षा यस्तै गढीबाट गर्दथे ।
यो माथागढी डाँडामा पैदल पुग्न देवदह खैरहनीबाट एक घण्टासम्म र एक घण्टा वा सवा घण्टा उकालो हिंड्ने समय लाग्छ । यदि पहाडको फेंदीबाट केबलकारको ब्यवस्था गर्न सके जुनसुकै ऋृतुको लागि पनि त्यहाँ जाने मानिसको कमी हुंदैन । उत्तरमा हिमाली श्रृंखला र दक्षिणमा भारतको गोरखपुर आसपाससम्म देखिने ठाउँ हुनाले सबैको मन जित्न सक्छ । सानो भएपनि कम घुम्तीको चिटिक्कको कार मार्ग बनाइ दिए माथागढी डाँडादेखि तल झुम्सा खोलाको किनार हुंदै जगात जान सकिन्छ । यो किनार होमस्टे संचालन मात्र होइन नवविवाहित जोडीको राम्रो बसाई केन्द्र बन्न सक्छ । जगातबाट गोठादी हुंदै रहवास मटेरी हुंदै नवलपुरको सर्दी दुम्किवास निस्कन सकिन्छ भने जगातबाट झुम्सा खोला किनार हुंदै झडेवा निस्कन सकिन्छ । झडेवा माथागढी गाउँपालिकाको केन्द्र पनि हो । झुम्सा खोलाको सिर भनेकै झडेवा हो । झडेवाबाट देवगीर निस्केर रुप्से हुंदै तल खहरे सराई भएर बाँसटारी आउन पनि सकिन्छ जहाँ अहिले यातायातको सुविधा छ । अर्को बाटो झडेवा भएर मुन्टुङ हुंदै लेमढेंग हुमिन हुंदै आर्यभञ्ज्याङ निस्कन सकिन्छ ।
पर्यटनको सम्बन्ध कसरी हुन्छ त भन्ने प्रसंगमा यी जति ठाउँ भनियो सबै कतै न कतै पर्यटनसंग नै जोडिन सक्छन् । जस्तो होमस्टे तथा सांस्कृतिक कार्यक्रम । अधिकांश मगर समुदाय हुनाले मगर संस्कृतिले मानिसलाई आकर्षण गर्न सक्छ । खोला नालाले पौडी खेल तथा पिकनिकको लागि अवसर दिन्छ । देवगीर डाँडाबाट झंडेवा मिनि उपत्यका र यता माडीफाँट तथा तानसेन सहरको आनन्द दिन सक्छ । मान्छेको रोजाई अनुसार खान बस्न र घुम्न मिल्ने प्रशस्त ठाउँ छन् । माडीफाँटको चक्कर लगाउने इच्छा भए बांसटारी दमकडा सराई खहरे हुंदै देवगीर मुन्टुंग लेमढेंग हुमिन आर्यभञ्ज्याङ्ग पुनः बांसटारी । बुटवलको हिसाबले हेर्दा बिहान जाने हो भने खैरहनी हुंदै माथागढी जगात झडेवा बाँसटारी एक दिन पनि नलाग्ला । यस भित्र अझ कति कति कुरा लुकेर बसेका होलान् । जस्तै जिपलाइन, राफ्टिङ्ग, प्याराग्लाइडिङ्ग आदि आदि । विकासको क्रममा यी देखिनेछन् । पर्यटन ब्यवसायी स्वयंले खोज गर्नेछन् तर सुरुमा यो सबै काम गर्न बैशाखमा सम्पन्न भएको निर्वाचनबाट वनेको स्थानीय निकाय विशेषगरेर माथागढी गाउँपालिकाले ध्यान दिनुपर्छ र समन्वय पनि गर्नुपर्छ सुनवल नगरपालिका तथा देबदह नगर पालिकासंग । यस्तै पाल्पाभित्रका सिमा जोडिएका पालिकाहरु संग पनि र, पर्यटन ब्यवसायीहरुसंग ।
हुन त यो सोंच पनि आउला । जनप्रतिनिधिले ध्यान नदिन पनि सक्छन् । यति बिधि झञ्झट किन बोक्ने भनेर । अनि यो ठाउँमा को घुम्न आउँछ र भन्न सक्छन् । तर त्यस्तो सोंच्नु हुंदैन । हाम्रो स्वभाव नजिकको तिर्थ हेला जस्तो हुन्छ । यो ठाउं हामी घुम्न होइन । यो त अरुलाई घुम्न आउने गराउने हो भने संगै हामीले आफ्नो ठाउँको विकास गर्नु पनि हो । जसरी हामी अरु ठाउँमा घुम्न जान्छौं बस्छौं चिनो भनेर भएपनि केही पाहुर पात किनेर ल्याउँछौं । त्यस्तै अरु ठाउँका मानिसहरु हामी कहाँ घुम्न आउनुहुन्छ । मन लागेको कसरा किनेर लानु हुन्छ । फेरि हामीले काम गर्दै जाँदा केही न केही नयाँ कुरा सिक्छौं, केही हाम्रा पुराना कुरा सोध खोज गरेर जान्ने प्रयास गर्छौ र ती पुराना पहिचान संस्कृतिको संरक्षण र विकास गर्दै जान सक्छौं । काम नगरी काम जानिन्न । कामले काम सिकाउँछ भन्ने कथन छ । विकास भएन भनेर विकास भएको ठाउँतिर जानु भन्दा विकास गरेर बाहिरका मान्छेलाई आउने गराउन सक्नुपर्छ । हाम्रा कतिपय दुर्गम मानिएका ठाउँ विकास हुन्न कि भनेर आश मारेका ठाउंमा अहिले होमस्टे खोलेर अन्य पर्यटकीय विकास गरेर गाउँ ठाउँको मुहार बदल्न सफल भएको देखिन्छ भने हामीले आँटेमा हाम्रो ठाउँमा पर्यटन विकास गर्न सकिन्न र ? विकास गर्न सके रोजगारी पाइन्छ, उत्पादन बढ्न सक्छ, नयाँ नयाँ विधि प्रविधि भित्रिन सक्छ, संस्कृतिको प्रस्फुटन तथा संरक्षण हुन सक्छ । ठाउँको मुहार बदलिन सक्छ । सायद यी सब अपेक्षा पूरा गर्न सकिन्छ कि भन्दै पर्यटन विकासको पर्खाइमा रहेको जस्तो देखिन्छ पाल्पा माथागढी ।
(लेखक पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजका सल्लाहकार हुनुहुन्छ)