© २०२३
मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिक र सामाजिक जीवन वा मानव जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । मिडिया अर्थात सञ्चार माध्यम र समाज एकअर्कासंग अन्तर सम्बन्धित भएपनि यिनिहरुको विचमा तात्विक भिन्नता भने पाइन्छ । समाजविना सञ्चार र सञ्चारबिना सार्थक समाजको परिकल्पना २१ औं शताब्दीमा असम्भव जस्तै हो । परम्परागत मान्यताका आधारमा सञ्चार भनेको विचारको आदानप्रदान हो । विचार र सुचना फरक विषय हो । विचार कुनै अमुख व्यक्तिको धारणा हो भने सूचना सबैका लागि हो । जसको सदुपयोग आवश्यकतामा निर्भर रहन्छ । सुचनाको प्रवाह हुने माध्यम भनेको मिडिया मार्फत हो । प्रविधिको तिव्र विकास भइरहेको पछिल्लो समयमा छापा माध्यम वा इलेट्रोनिक माध्यमबाट सन्देशको प्रवाह गरिन्छ । यसलाई आमसञ्चारको माध्यम पनि भन्ने गरिन्छ । वरिष्ठ सञ्चारबिद डेनिस मक्वाइलका अनुसार, “आम सञ्चारका माध्यम भन्ने शब्दावलीले छोटो समयमा लामो दूरीसम्म तथा धेरै प्रापकहरु संग सञ्चार गर्न सकिने संगठित साधनहरुलाइ बुझाउँदछ” भनेका छन् । मिडिया बिभिन्न प्रकारका रहेका छन । छापा माध्यम, बिद्युतीय माध्यम, रेडियो, टेलिभिजन, अनलाइन, मिडियाका प्रकार फरक भएपनि प्रत्येकको उद्देश्यमा एकरुपमा पाइन्छ । सञ्चार माध्यम वा मिडियाको कार्य भनेको समाजलाई सहि, तथ्यपरक र विश्वसनीय सुचना प्रवाह गर्दै ज्ञान दिनु वा चेतनाको विकास गर्नु हो । मिडिया लोकतान्त्रिक समाजको पहरेदारको रुपमा रहेको हुन्छ । राज्यका तीन महत्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दी बिनाको प्रहरीको रुपमा मिडियाले नियालीरहेको मात्र हुँदैन गलत पात्र र प्रवृति विरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ । मिडियाले समाजका समस्या उदघाटित मात्रै होइन न्यायका लागि मार्ग प्रशस्त समेत गर्दछ । रेखाचित्रबाट हेर्दा मिडिया र समाज बिचको सम्बन्धलाई धेरै कोणबाट हेर्न सकिन्छ । समाज भनेको निश्चित क्षेत्रभित्र निश्चित मुल्य मान्यतासहित बनेको मानव सम्बन्धको जालो हो । मानिस सामाजिक र चेतनशिल प्राणी भएकाले सधै नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । मानिसको यहि उत्सुकता, कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ ।
एक्युरेसी अर्थात वास्तविक सत्य, ब्यालेन्स अर्थात सन्तुलन र क्रेडिटिबिलिटी अर्थात विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीनवटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हुँदैन । कुनैपनि सूचना वा समाचारमा यी तथ्य बङ्ग्याइएको छ वा समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार हुन जान्छ । जुन सूचनाको विश्वसनियतामा शंका गर्ने प्रशस्त आधार हुन्छ । समाजमा नयाँ र ताजा घटनाहरु पस्कनुका साथै समाजमा घटिरहेका कुरीति, हिंसा, अपराधका बिरुद्ध आवाज उठाउने काम पनि मिडियाले गरिरहेको हुन्छ । राज्य र जनता बिचको पुल (सम्बन्ध) मिडियाले निभाइरहेको हुन्छ ।
सञ्चार वा मिडियाकै माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम गरिरहेको पाईन्छ । तथापी कहिले ब्यक्तिगत स्वार्थ त कहिले राजनैतिक प्रभावबाट सञ्चारक्षेत्र प्रभावित भएको पनि पाइन्छ । समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाजप्रति जिम्मेवार बन्न नसक्दा दण्डहिनता र कुशासन हावी हुन्छ । कुशासन र दण्डहिनता हावी भएको ठाउँमा न्यायमा सबै क्षेत्र तह र तप्काको समान पहुँच हुन सक्दैन । मिडियाले समाजका समस्याहरु जस्ताको त्यस्तै दर्शाउने भएकोले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । आज मानिसहरु जब मिडिया मार्फतको सूचनामा निर्भर छन तब यसको क्षमतामा पनि बृद्धि हुनु स्वभाविक हो । तर, मिडिया राजनीतिग्रस्त हुनु, मिडिया मार्केटफोर्स हुनु र मिडियामा संलग्न ब्यक्तिहरुको निहित स्वार्थ हुनु जस्ता कारण मिडियाले कतिपय सूचनालाई अवास्तविक रुपमा प्रस्तुत गरिदिँदा सञ्चारको विश्वसनियतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ । सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्व स्थापित गर्न सकिन्छ । समाजलाई पित पत्रकारिताबाट होईन यथार्थताबाट समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सवै पत्रकार एवं सञ्चारकर्मीले बिर्सिनु हुदैन । नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरु धेरै हदसम्म सजिलो सूचनाका श्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैंमा सूचनाको श्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरु छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नका लागि मात्रै सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर मिडियामार्फत समाजमा भ्रम फैलाउनेहरुको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने ? भन्ने प्रश्नको उत्तर पाउन कठिन छ । मूलतः समाजमा मिडियाका दुई आयाम रहेका छन । एउटा पेसा र अर्को ब्यवसाय । तर यसको प्रमुख कार्य जनसमुदायको सेवा गर्नु नै हुनु पर्दछ । मिडिया आफैमा एउटा ब्यवसाय भएकाले यसले पनि नाफा कमाउनु पर्दछ, अन्यथा यो बजारमा टिक्न सक्दैन । तर, अर्कातिर यसको विकास नै जनतालाई सुसुचित पार्नु हो । यदि सूचनाको प्रवाह गर्ने आफ्नो दायित्व मिडियाले पूरा गर्न सकेन भने यसको औचित्य माथि प्रश्नचिन्ह खडा हुनेछ । समाजको पहरेदारी गर्न विकास भएका मिडियाले समाजको अहित हुने कुरा गर्नु हुदैन । चाहे लाखौको फाइदाको कुरा किन नहोस । उदाहरणका लागि बियर, रक्सीको बिज्ञापन दिँदा मिडियालाइ आर्थिक लाभ त हुन्छ तर त्यसबाट समाजलाई अहित हुने गर्दछ । त्यसैले मिडियाले त्यस्ता कुराको प्रचारप्रसार गर्न विशेष ध्यान दिनु पर्दछ । तर, समाजमा टिक्न, समाजमा बिक्न अनि समाजमा बिश्वास कायम गर्न मिडिया समाज प्रति उत्तरदायी बन्नैपर्छ । अन्यथा मिडिया जनताको आवाज होइन, प्रोपागान्डा साबित हुन्छ ।
त्यसैले सत्य, तथ्य र वास्तविक सूचना प्रवाह नै मिडीया वा सञ्चार माध्यमको धर्म हो । आफ्नो यो आधारभूत मान्यताबाट सञ्चार माध्यम चिप्लियो भने समाजको पहरेदारको भूमिकामा त्यो मिडिया हुन सक्दैन । अझ लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा न्याय, सुशासन र सम्वृद्धिका लागि त मिडियाको ठूलो भूमिका हुने गर्दछ । नेपाली समाज बहुलवादी छ । संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । मुलुकमा प्रेस स्वतन्त्रता छ । सहि सूचनाको सम्प्रेषण नहुँदा एउटा सानो गलत सूचनाले एकैछिनमा ठूलो रुप लिन सक्छ । त्यो एक गलत सूचनाले कतिपयको व्याक्तिगत वा सामाजिक, संस्थागत जीवन चरित्र नै समाप्त हुनसक्छ । यसका लागि मिडियामा नकारात्मक कुराहरु फैलाउने प्रक्रिया रोक्नको लागि राज्यले बलियो संयन्त्र निर्माण गर्नुपर्छ र मिडियाहरूबाट पनि राज्यलाई सकारात्मक सहयोग गर्नुपर्दछ ।
राजनीतिक संकीर्णता, अस्तव्यस्तता, अराजकता, निहित स्वार्थजस्ता कारणले मिडिया क्षेत्र दलदलमा भासिएको छ । तथापी सबै मिडिया वा सञ्चार माध्यम गलत बाटोमा छन भन्ने होइन । सकारात्मक समाचारलाई प्राथमिकता दिएमात्र सभ्य समाजको निर्माणमा सञ्चार माध्यमले टेवा पु¥याउन सक्छ । पछिल्लो समयमा हरेक नागरिक जसको ईन्टरनेट र सामाजिक सञ्जालमा पहुँच छ, यस्ता समाचारहरु सेयर गर्नु भन्दा पहिला धेरै आयामबाट सोच्न जरुरी पनि छ । पहिलो विषय समाचारमा सत्यता हुँदाहुँदै ’निस्पक्षता’ छ की छैन ? त्यो पक्ष केलाउन जरुरी छ । दोश्रो समाचारको उद्देश्य सामाजिक मेलमिलापमा आधारित छ या सामाजिक बेमेलमा आधारित छ भन्ने सोचेर सेयर वा ’सिफारिस’ गर्ने निर्णय गर्नुपर्छ । कतिपय समाचारले समाज बनाउने भन्दा पनि भाँड्ने तत्व हावी वा नियोजित रुपमा ‘पित’ पत्रकारिताका रुपमा त्यो देखिन्छ । हाम्रो समाजमा धेरै विचारहरुको घुलमिल छ । सबैलाई आफ्नो विचारको, अस्तित्वको रक्षा गर्ने व्यक्तिगत चुनौती पनि छ । तर, आफ्नो विचारको अस्तित्व कायम राख्नको लागि नकारात्मक कुराहरु भ्रम, संकीर्णता आदिको साहारा लिनु राम्रो होइन । सत्यता, सहनशीलता जस्ता बिषयलाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्व स्थापित गर्न सकिन्छ । मुलुकमा व्याप्त अस्तव्यस्तता, दण्डहिनता, मानव अधिकारको रक्षा, सुशासन, कर्तव्य र अधिकारको बोध मिडियाले नै गर्ने हो । लोकतन्त्रमा सहि सूचना पाउनु पनि नागरिकको अधिकार हो । त्यसैले आमसञ्चारका माध्यम नागरिकहरूको सूचनाका स्रोत हुन् । पछिल्लो समय सामाजिक सञ्जाल पनि सूचनाका राम्रो माध्यम बनेका छन् । सहि सूचना नै सञ्चार माध्यमको प्रमुख व्यापार हो । सेवा भनिएपनि सञ्चार माध्यमले बिक्री गर्ने त्यही सूचना हो । नागरिकहरू सूचनाका उपभोक्ता हुन् । सूचना खरिद गरेर नागरिकहरू लाभान्वित हुन्छन् । सूचना बेचेर सञ्चार माध्यम चल्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पोर्टल सबैबाट पाउने सूचनाका लागि नागरिकहरूले पैसा तिर्नुपर्छ । विधा अनुसार पैसा तिर्ने तरिका र माध्यम फरक हुन सक्छन् । त्यसैले मिडियाले दिने सूचना कस्तो हुने, त्यसले समाजमा पार्ने प्रभाव वा असर कस्तो हुने भन्ने सोच्न जरुरी छ ।
अन्त्यमा मानिसको उत्सुकता, कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ । त्यसैले वास्तविक वा सत्यता, सन्तुलन र विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमहरूले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीनवटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हुँदैन । कुनैपनि सूचना वा समाचारमा यी तथ्य बङ्ग्याइएको छ वा समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार हुन जान्छ । त्यसैले सञ्चार माध्यमबाट प्रशारित सूचनाहरूलाई असल पत्रकार एवं सञ्चारकर्मीहरूले आफ्नो धर्म, कर्तब्य, दायित्व र मर्मलाई ध्यान दिएमा मिडियाको गरिमा बढ्ने, समाजलाई सही मार्गमा लैजान सकिने, पित पत्रकारिता निर्मूल हुने, कुरीति, कुसंस्कार हट्ने, सेवा प्रवाहमा सुशासन र पारदर्शिता कायम भई भ्रष्टाचार नियन्त्रण हुने, सुसभ्य र परिष्कृत समाज निर्माण गरी आमसञ्चारका माध्यमबाट आर्थिक सामाजिक रूपान्तरण भै समुन्नत समाजबाट समृद्ध नेपाल बनाउनेमा विश्वास गर्न सकिन्छ । समाप्त
(लेखकः बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन)