Butwal Today

चन्द्रकोटमा सार्वजनिक सुनुवाइ

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा चालु आर्थिक वर्ष २०८३ / ८४ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको प्रशासनिक गतिविधि, विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गरिएको थियो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा गाउँपालिकाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासी भेषराज अर्याल, विवेक क्षेत्री, मनिराम रिम्तेल, गोकर्णप्रसाद शर्मा, घनश्याम गौतम र वीरबहादुर थापा लगायतले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा दैनिक सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, गुनासा र सुझाव राखेका थिए ।

नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसे तथा सम्बन्धित वडाध्यक्षहरूले सेवाप्रवाह र विकास निर्माणका विषयमा स्पष्ट पारेका थिए । अध्यक्ष केसीले प्राप्त सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा गाउँपालिकाको सेवा प्रवाहलाई थप जनमुखी, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीले गाउँपालिका भित्रको शान्ति सुरक्षाको वर्तमान अवस्था तथा जिल्लाको समसामयिक सुरक्षा परिस्थितिबारे जानकारी गराएका थिए । उनले गाउँपालिकामा भएका विभिन्न घटनाको विवरण र सुरक्षा अवस्था सम्बन्धी बिवरण प्रस्तुत गर्दै नागरिकले राखेका जिज्ञासाको जवाफ समेत दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी, सघं संस्थाका प्रतिनिधि, युवा तथा महिलाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामकारबाही प्रति नागरिकको चासो, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सम्बोधन गर्ने अवसर प्रदान गरेको गाउँपालिका अध्यक्ष केसीले बताए । उक्त कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष एवं पत्रकार जनार्दन घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?