काठमाडौँ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।
आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।
“असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा दिन थालेका छन्”, उनले भने, “बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा लिएर आएको छ, सिस्टेमिक रिफर्मले पनि अब हामीलाई इकोनोमीमा मेनस्ट्रिम र इन्टर्नलाइज गरी अगाडि लैजादा स्वेच्छिक कर अनुपालन जस्ता कुरामा मलाई लाग्छ नतिजा आउने नै छन् ।”
अर्थमन्त्री वाग्लेले सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन गर्न सक्नुमा गुड गर्भर्नेन्सको डिभिडेन्ड (सुशासनको लाभांशको) रुपमा बुझ्नुपर्ने बताए । उनले भने, “सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेन्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि हामी अगाडि जाँदै गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ ।”
उनले सरकारले कर प्रशासनको डिजिटल रुपान्तरण र स्वचालितलाई सुशासनको अभिन्न अङ्गको रुपमा अघि सार्दै आइरहेको बताए । “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गर्ने काम भइरहेको छ”, अर्थमन्त्री वाग्लेले भने, “कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्नेतिर लागेका छौँ ।”
सरकारले उद्यम तथा व्यवसायको प्रर्वद्धन र लगानी विस्तार गर्न एवं अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार, करका दर र दायराको पुनरवलोकन गर्दै आएको बताए । “सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु भएको छ ।”
सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरुपको करदाता पोर्टलको समेत शुभारम्भ गर्नुभयो । सोही अवसरमा आन्तरिक राजस्व विभागको आव २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिकासमेत विमोचन भएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्रथामिकतामा राख्दै आएको जानकारी दिए ।