© 2026
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्धको आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका साथ तयार रहन निर्देशन दिए ।
उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने बताए। आतंकपूर्ण वातावरण र कृयाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि, त्यस्तो आतंक सधैँ कायम नरहने र आत्मविश्वास तथा मनोबलकासाथ अगाडि बढ्ने ओलीको भनाइ छ।
अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी बनाउन खोज्नेहरूका विरुद्ध पार्टी लिएर आगामी चुनावमा जित्न जाने उल्लेख गर्दै सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति उनले असन्तुष्टि व्यक्त गरे।
आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र जनतासँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न नेता कार्यकर्तालाई ओलीले निर्देशन दिए ।